Lumbini Rise
रुपन्देहीमा प्रहरी सक्रियता उच्च, चुनौती उस्तै 


रुपन्देही - रुपन्देही जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत्र महिनाको प्रगति विवरणले जिल्लाको शान्ति–सुरक्षा अवस्थालाई मिश्रित संकेत दिएको छ ।

एकातर्फ अपराध अनुसन्धान, नियन्त्रण र राजश्व संकलनमा उल्लेख्य प्रगति देखिएको छ भने अर्कोतर्फ घरेलु हिंसा, लागूऔषध र सवारी दुर्घटनाजस्ता चुनौतीहरू अझै गम्भीर रूपमा विद्यमान रहेका छन् । 

चैत्र महिनामा मात्रै कुल १९९ वटा अपराध मुद्दा दर्ता भएका छन् ।  ज्यान सम्बन्धी, चोरी, सामाजिक तथा आर्थिक अपराधको संख्या उल्लेख्य देखिन्छ।

चालु मुद्दामा २२१ जना प्रतिवादी पक्राउ परेका छन् भने फैसला कार्यान्वयन अन्तर्गत ९६ जना फरार अभियुक्तलाई पक्राउ गरी ४२ लाखभन्दा बढी जरिवाना असुली र २८ वर्षभन्दा बढी कैद सजाय कार्यान्वयन गरिएको छ ।

यसले प्रहरीको अनुसन्धान तथा कारबाही क्षमता सुदृढ हुँदै गएको संकेत गर्दछ । तर महिला तथा बालबालिका सम्बन्धी मुद्दाहरूले सामाजिक यथार्थको गम्भीर पक्ष उजागर गर्छन् ।

घरेलु हिंसाका मात्रै ८८ उजुरी दर्ता भएका छन्, जसमा अधिकांश १९ देखि ५९ वर्ष उमेर समूहका छन्। यद्यपि ८० वटा मिलापत्रमार्फत टुंग्याइएको छ, जसले वैकल्पिक विवाद समाधानको प्रयोग बढ्दो देखाउँछ । तर यो प्रवृत्तिले दीर्घकालीन समाधान दिन्छ कि दिँदैन भन्ने प्रश्न उठेको छ ।

हराएका व्यक्तिको तथ्याङ्क पनि चिन्ताजनक छ । कुल १०३ जना हराएकामध्ये ५५ जना मात्रै चालु अवस्थामा फेला परेका छन् भने अघिल्ला अवधिका ५८ जनालाई पछिल्लो अनुगमनमार्फत फेला पारिएको छ । यसले मानव सुरक्षा र ट्र्याकिङ प्रणालीमा थप सुधार आवश्यक रहेको देखाउँछ । 

लागुऔषध नियन्त्रणमा प्रहरीको सक्रियता उल्लेखनीय देखिन्छ। १२ वटा मुद्दामा १९ जना पक्राउ परेका छन् भने हजारौं एम्पुल विभिन्न प्रतिबन्धित औषध बरामद गरिएको छ। विशेष घटनाहरूमा लागूऔषध कारोबारी पक्राउ गर्न गोली चलाउनुपरेको अवस्था समेत देखिएको छ, जसले सीमावर्ती जिल्लामा लागूऔषधको गम्भीर चुनौती रहेको पुष्टि गर्छ । 

आत्महत्याका २० घटनामध्ये अधिकांश झुण्डिएर भएका छन् र पुरुषको संख्या बढी देखिन्छ। १९–४५ वर्ष उमेर समूह सबैभन्दा प्रभावित रहेको तथ्यले मानसिक स्वास्थ्यसम्बन्धी सचेतनाको खाँचो औंल्याउँछ ।

सवारी दुर्घटनातर्फ १६७ दुर्घटनामा १४ जनाको मृत्यु र २६१ जना घाइते भएका छन्। ३३ सयभन्दा बढी सवारी कारबाहीबाट ५५ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन गरिएको छ। यसले ट्राफिक नियम उल्लंघन व्यापक रहेको संकेत गर्छ।

राजश्व चुहावट नियन्त्रणमा २ करोड ६० लाख रुपैयाँभन्दा बढी संकलन हुनु सकारात्मक देखिए पनि अवैध गतिविधिको मात्रा पनि उत्तिकै ठूलो रहेको स्पष्ट हुन्छ। यस्तै, प्राकृतिक स्रोत दोहन, वन पैदावार र पशुपंक्षी तस्करी नियन्त्रणमा पनि प्रहरी सक्रिय देखिएको छ । 

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ७० वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी २ हजारभन्दा बढी नागरिकलाई सहभागी गराइएको छ। विद्यालय तथा समुदाय केन्द्रित कार्यक्रमले दीर्घकालीन अपराध न्यूनीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यद्यपि नागरिक सुनुवाइ कार्यक्रमहरूमा उठेका गुनासाहरू-जस्तै ट्राफिक संकेतको अभाव, सीसी क्यामेरा आवश्यक, सीमा क्षेत्रको अपराध नियन्त्रण-अझै सम्बोधन हुन बाँकी चुनौतीका रूपमा देखिन्छन्।

समग्रमा, रुपन्देहीमा प्रहरीको सक्रियता र उपलब्धि प्रशंसनीय देखिए पनि सामाजिक अपराध, लागूऔषध दुव्र्यसन, सवारी दुर्घटना र घरेलु हिंसाजस्ता समस्या समाधानका लागि बहुआयामिक रणनीति आवश्यक रहेको देखिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update