Lumbini Rise
तिलोत्तमाका जनप्रतिनिधिद्धारा बजेट र नीतिमा दलित समुदायलाई प्राथमिकता राख्ने प्रतिबद्धता

बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दलित समुदायको सशक्तिकरणका लागि बजेट कार्यक्रम र नीतिगत रुपमा काम गरेको जनाएको छ ।

जागरण मिडिया सेन्टरले तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा 'विभेदमुक्त नगर : समानतायुक्त नगर' भन्ने नारालाई सार्थक बनाउने उदेश्यले कार्यक्रम गरेको बताएका हुन् । 

उक्त अवसरमा तिलोत्तमा नगरपालिकाका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्रीले आफूहरुले तिलोत्तमा नगरपालिकालाई मानव मर्यादाको नगरपालिकाका रुपमा स्थापित गर्ने गरी काम गरेको बताए ।

उनले दलितमैत्री नगरपालिका बनाउने उदेश्यले समुदायको उत्थान, सिप विकास तथा अधिकार समेत सशक्तिकरण गर्ने गरी कार्यक्रम गरेको बताए । नीति कार्यक्रममै दलित समुदायलाई प्राथमिकतामा राखेर काम गरेको बताउँदै दलित समुदायको रणनीतिक विकास योजना, दलित पाश्वचित्र तथा जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कानुनहरु प्रकाशन गरेको उनले बताए । 

यस्तै तिलोत्तमा नगरपालिका वडा न. ६ का वडाअध्यक्ष गणेश पाठकले दलित समुदायमाथि ठूलो विभेद र अन्याय भएको स्विकार गर्दै स्रोत साधनको अभावका कारण उल्लेख्य काम गर्न नसकेको बताए । आर्थिक विकास समिति संयोजक समेत रहेका पाठकले दलित समुदाय पछाडि शिक्षा र आर्थिक गरिबिका कारण परेको बताउँदै अब ठोस कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । उनले आगामि आर्थिक बर्षको बजेटमा दलित समुदायलाई परिवर्तन गराउन सक्ने गरी बजेट बिनियोजन गर्ने बताए । 

यस्तै उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले भौतिक विकास संगै मानविय विकासका कामलाई तिलोत्तमामा नीतिगत रुपमा अगाडि बढाएको बताए । उनले पेशागत सामाग्रीमा अनुदान, छुवाछुतविरुद्ध कानुनी सचेतनादेखि नेपालमै पहिलो पटक स्थानीय सरकारको अगुवाईमा दलित ज्ञान उत्सव गरेको बताए । 

उनले दलित समुदाय, महिला र सिमान्तकृत समुदायको पक्षमा बजेट, नीति र कार्यक्रम मार्फत समेटेको बताए । 
यस्तै जागरण मिडिया सेन्टरका महासचिव जगलाल नेपालीले तिलोत्तमालले दलित तथा सिमान्तकृत समुदायको पक्षमा बजेट कार्यक्रम र कानुनी रुपमा समेत सकरात्मक काम गरेको बताउँदै आगामि बजेटमा समुदायको आवश्यकता बुझेर काम गर्र्नुपर्नेमा जोड दिए । 

जनप्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य सञ्जय विश्वकर्मा, जिल्ला अध्यक्ष टंक सुनार, जागरण मिडिया सेन्टरका विनोद पयिार, फूलु सुनार लगायतले छुवाछुत अन्त्यका लागि प्रभावकारी र समुदायकेन्द्रीत कार्यक्रम गर्न सुझाव दिए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update