Lumbini Rise
किनेको पाँच दिनमै पब्लिकेसन अघि राखियो गाडी, बाँकी दुई निजी कार

काठमाडौं- काठमाडौंका तीन प्रमुख सञ्चारमाध्यमका कार्यालयअगाडि सोमबार बिहान बाटो नै अवरुद्ध हुने गरी पार्क गरिएका तीन वटा गाडीमध्ये दुई वटा निजी व्यक्तिको र एउटा सानीमा बैंकबाट ऋण लिएर एसटी मोटर्सले किनेको खुलेको छ ।  

कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालयअगाडि राखिएका ती गाडीका कारण पत्रकार तथा कर्मचारीलाई कार्यालयभित्र आफ्ना सवारीसाधन प्रवेश गराउनसमेत कठिनाइ भएको थियो।

यातायात व्यवस्था विभागको विवरणअनुसार, कान्तिपुर पब्लिकेशनअगाडि पार्क गरिएको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकबाट ऋण लिएर एसटी मोटर्सले पाँच दिनअघि मात्र नामसारी गरेको पाइएको छ ।  

त्यस्तै, अनलाइनखबरको कार्यालयअगाडि रहेको बा.१२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा दर्ता रहेको विभाग स्रोतले जनाएको छ।

यस्तै, हिमालय टेलिभिजनअगाडि राखिएको बा.१० च १२५५ नम्बरको गाडी पनि एक निजी व्यक्तिको नाममा दर्ता रहेको खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, तीनै गाडी त्यहाँ कसले र किन राख्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

यसैबीच, नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले क्रेनको सहायताबाट तीनै स्थानबाट गाडी हटाएको जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update