Lumbini Rise
बुटवलको नयाँ बसपार्कबाट रिभल्भर र गोलीसहित एक युवक पक्राउ

बुटवल - रुपन्देहीको बुटवलबाट प्रहरीले हातहतियारसहित एक युवकलाई पक्राउ गरेको छ। बुटवल उप-महानगरपालिका वडा नं. ९ स्थित नयाँ बसपार्क इलाकाबाट हातहतियार तथा खरखजानासहित मकवानपुरका २६ वर्षीय रेशम थिङ मल्ल (मगर) लाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार साउन ५ गते विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी निशान्त श्रीवास्तवको नेतृत्वमा खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँडडुल गरिरहेका मल्ललाई नियन्त्रणमा लिएर सोधपुछ तथा कानुन बमोजिम खानतलासी गरेको थियो। 

खानतलासीका क्रममा सुरुमा उनको साथबाट रिभल्भरको १ थान गोली फेला परेको थियो। त्यसपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा मल्लको स्थायी वतन (मकवानपुर बागमती गाउँपालिका वडा नं.-९ बाट थप १ थान रिभल्भर र ५ थान गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।

पक्राउ परेका प्रतिवादीमाथि हातहतियार खरखजाना मुद्दामा सम्मानित अदालतबाट आज साउन ६ गतेदेखि लागू हुने गरी ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update