Lumbini Rise
स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छ : मुख्यमन्त्री आचार्य 

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

स्काउट अभियानले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको मुख्यमन्त्री आचार्यले बताएका हुन् । सन् १९०७ मा विश्वमा र वि.सं. २००९ (सन् १९५२) मा नेपालमा सुरु भएको स्काउट अभियान सात दशक पार गरिसकेको समेत स्मरण गरे ।

उनले स्काउटको माध्यमबाट बाल्यकालदेखि नै चरित्र निर्माण, नैतिकता, आत्मनिर्भरता, विपद् व्यवस्थापन, साहसिक गतिविधि, सामुदायिक सेवा तथा स्वयंसेवी भावना विकास हुँदै आएको बताए ।  कोभिड–१९ महामारीका बेला स्काउट स्वयंसेवकहरूले जुनसुकै घडीमा अग्रपङ्क्तिमा खटिएर पुर्‍याएको योगदान प्रति मुख्यमन्त्री आचार्यले प्रशंसा र धन्यवाद प्रकट गरे ।

नेपाल स्काउट एक अनौपचारिक शिक्षामूलक संस्था भएकाले यसले बालबालिका तथा युवाहरूको सर्वाङ्गीण विकासमा ठुलो भूमिका खेलेको उनको भनाइ छ । प्रदेश, पालिका र विद्यालयसम्म स्काउट अभियान विस्तार हुनु र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूमा सहभागिता बढ्नु सकारात्मक उपलब्धि भएको उहाँको उल्लेख छ ।

वि.सं. २०७७ कात्तिक ६ गतेदेखि प्रदेश संरचनामा स्काउट स्थापना भई जिम्मेवारी निर्वाह भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका १०९ वटै स्थानीय तहमा स्काउटको सञ्जाल विस्तार भइसकेको जानकारी दिए ।  स्काउट अभियानको उद्देश्य, सिद्धान्त र कार्यक्रमहरूमा लुम्बिनी प्रदेश सरकारको पूर्ण समर्थन रहने विश्वास पनि उनले दिलाए ।

उनले स्काउट शिक्षामार्फत प्रत्येक बालबालिका तथा युवालाई सक्षम, आत्मनिर्भर र राष्ट्र प्रेमी बनाई विपद् व्यवस्थापन तथा सामाजिक चेतनाका क्षेत्रमा “फर्स्ट रेस्पाेन्ड” को रूपमा परिचालन गर्न सबै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update