Lumbini Rise
रूपदेही ३ मा भैरहवाका व्यवसायी गुप्ताले गरे उम्मेदवारी घाेषणा 

भैरहवा– स्वतन्त्र युवा अजयकुमार गुप्ताले आगामी कार्तिक १७ मा हुने रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले स्थानीय नै क्षेत्रको प्रतिनिधि हुनुपर्ने बताउँदै उम्मेदवारी घोषणा गरेका हुन् । बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी गुप्ताले उम्मेदवारी घोषणा गर्दै रैथाने, यहाँको क्षेत्र र माटो बुझेको भएकाले आफू चुनावमा होमिएको जनाए ।


उनले क्षेत्र नम्बर ३ ले स्थानीय नेता नपाउँदा जनता र क्षेत्रको समस्या जहाँकोतही रहेको बताए । ‘विगतमा यहाँबाट निर्वाचितहरु को–कहा हुनुहुन्छ, सबैलाई जानकारी भएकै कुरा हो’, उनले भने, ‘क्षेत्रमा नआउने, जनताका समस्या नसुन्ने, सम्भावना भएको यो ठाउँलाई बेवास्ता गर्ने काम हुँदै आयो । त्यसैले यसपटक मैले आफूलाई योग्य ठानेर उम्मेदवार बन्न लागेको हुँ ।’

आफूले अहिले उम्मेदवारी घोषणा गरेको तर भोलिका दिनमा अन्य दल तथा समूहसँग सहकार्य हुन सक्ने बताए । ‘राजनीति सहमती र सहकार्यबाट चल्ने हो’, उनले भने, ‘उपनिर्वाचन हुँदै गर्दा भोलि कुनै दल वा समूहसँग सहकार्य भने हुनसक्छ । त्यो सम्भावना जिवितै छ ।’ गुप्ताले गत बैशाखमा मात्रै राप्राप रुपन्देहीको उपाध्यक्ष पदबाट राजीनामा दिएर स्वतन्त्ररुपमा आफ्नो राजनीतिक गतिविधि बढाउँदै आएका थिए ।

निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेपछि क्षेत्रमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम बढीरहेको छ । दलहरुले भने उपयुक्त उम्मेदवार खोजिरहेका छन् । गुप्ताले आफू राजनीतिक चेत भएको व्यक्ति भएकाले सबैसँगको सहकार्य, सहमती र सहअस्तित्वलाई स्वीकार्दै अघि बढ्ने बताए ।

उम्मेदवारीसँगै गुप्ताले आफ्नो एजेण्डा पनि सार्वजनिक गरेका छन् । ‘अबको नेतृत्व रैथाने’ भन्दै गुप्ताले ६ वटा बुँदामा आफूले अघि सार्ने एजेण्डा तय गरी सार्वजनिक गरेका हुन् । जसअनुसार पर्यटन क्षेत्रको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन र बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक कार्यक्रमहरु गर्न पहल गर्ने उनले बताए ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update