Lumbini Rise
रेसुङ्गा विमानस्थलको उडान अवरुद्ध

तम्घास - गुल्मीको रेसुङ्गा विमानस्थलबाट विगत दुई हप्तादेखि उडान अवरुद्ध हुँदै आएको छ  । विमानस्थलका स्टेसन प्रमुख सुमन थापाका अनुसार पछिल्लो समय असार १४ उडान भएको र त्यसपश्चात् मौसम खराबीका कारण उडान हुन नसकेको बताए।

वर्षायाममा मौसम खराबीका कारण उडान प्रभावित भएको र गत मङ्गलबार २४ गते काठमाडौँबाट उडान भए पनि रेसुङ्गाको मौसममा समस्या देखापरेकाले करिब २० मिनेट आकाशमै होल्ड भई अवतरण हुन नसकेका कारण फिर्ता भएको उनको भनाइ छ ।  

असार र साउन महिना पहाडका विमानस्थलमा मौसमकै समस्या देखापर्दै आएको थापाले बताए ।

विमानस्थलबाट हप्ताको चार दिन आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने कार्यतालिका रहेको विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले बताए ।

काठमाडौँबाट बिहान ६ बजेर १० मिनेट र रेसुङ्गाबाट काठमाडौँका लागि बिहान ७ बजेर १० मिनेटमा उडान हुने कार्यतालिका रहेको उहाँले बताए ।

हवाई यात्रामा गुल्मी जोडिएसँगै फ्रान्स र स्पेनबाट पनि पर्यटकहरू घुम्नका लागि गुल्मी आएको रेसुङ्गा नगरपालिका गुल्मीले जनाएको छ ।

हाल गुल्मीबाट काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट गुल्मीका लागि सात हजार पाँच सय रुपियाँ भाडा कायम गरेको स्टेसन प्रमुख थापाले बताए ।

जिल्ला सदरमुकाम तम्घासबाट करिब पाँच किलोमिटर कच्ची बाटोपछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट २०८० वैशाख २९ गतेबाट व्यावसायिक उडान सुरु गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update