Lumbini Rise
नेपाल ईभी युगमा गइसक्यो  : मन्त्री दाहाल

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल ईभीको युगमा प्रवेश गरिसकेको बताए ।

दिगो, सुरक्षित, वातावरणमैत्री यातायातको सुरुवात गरिसकेकाले अब यसलाई कसैले रोक्न नसक्ने उनले बताए ।

महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात पूर्वाधारको क्षेत्रमा नेपाल पछि नै रहे पनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताए ।

‘पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग बनिरहेका छन् ।  उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन् । यी करिडोरलाई हामीले त्रिदेशीय कनेक्टीभिटीका रुपमा विकास गर्दछौं,’ उनले भने ।

उनले थपे, ‘यसले भारत, नेपाल चीन जोड्न सघाउ पुग्नेछ । संसारका ठूला देशहरूलाई जोड्न सकियो भने धेरै लाभ लिन सक्नेछौं ।’

उनले मुलुकलाई संघीय संरचनामा लगेपछि कतिपय द्विविधा देखिएको बताए । दाहालका अनुसार संघले गर्ने काम प्रदेशले र प्रदेशले गर्ने काम कतिपय स्थानीय तहले गरिरहेका छन् ।

यसमा संघले समन्वय गरेर दुविधा हटाउन खोजिरहेको मन्त्री दाहालले जानकारी दिए ।

दाहालले ड्राइभिङ लाइसेन्सको समस्या हल भएको दाबी गरे । उनले आफू मन्त्री भएर आएपछि अनवरत प्रयत्न गरेर समस्या हल गरेको जिकिर गरे ।

अब लाइसेन्स दिने काम प्रदेशको भएकाले १ साउनदेखि प्रदेशले नै दिने उनले जानकारी दिए ।

मन्त्री दाहालले अब सार्वजनिक गाडीहरूमा क्यासलेस सिस्टम लागु गर्नुपर्ने बताए । साना गाडीहरू विस्थापन गर्ने नीति सरकारको रहेको उनको जानकारी दिए ।

मन्त्री दाहालले नेपाल सरकारले जामलाई व्यवस्थित गर्ने काम गरिरहेको बताउँदै यातायात व्यवसायीहरूसँग बसेर यातायातका समस्याका बारेमा छलफल गर्न आफू तयार रहेको बताए ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update