
बुटवल- बिगतमा महिलाहरुको बैंक भनेर पहिचान बनाएको ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लि.का शेयरधनी महिलाहरुले न्यायका लागि नेपाल राष्ट्र बैंक समक्ष गुहार मागेका छन् । संस्थाको गत असार २८ गते सम्पन्न दशौं साधारण सभाले गरेको मर्जरको निर्णय एवं शेयरधनी महिला र कर्मचारीको बिरोधलाई लिएर उत्पन्न विवाद कारण संस्थापक महिला शेयरधनिहरु नेपाल राष्ट्र बैंक गुहार्न पुगेका हुन् ।
भैरहवास्थित नेपाल राष्ट्र बैंकको क्षेत्रिय कार्यालय पुगेर उनिहरुले उक्त साधारण सभाको निर्णय खारेज गर्न अपिल गरेका छन् । संस्थापक महिला शेयरधनीहरुले बैंकको संचालक समितिले छलछाम र जालसाजी गरि अन्यायपुर्ण ढंगले साधारण सभा गरेको आरोप लगाउदै अधिकांश महिला शेयरधनीहरुको भावनामाथि खेलवाड गरि अन्यायपुर्ण निर्णय गरेको बताएका छन् ।
उनिहरुले भने—“पटकपटक स्थान परिवर्तन गरेर, अधिकांश महिला शेयरधनी र कर्मचारीहरुलाई गुमराहमा पारेर गर्न खोजेको के हो ? एकातिर बोलाएर एकातिर साधारण सभा गर्ने, प्रबेशका लागि छुट्टै पासको ब्यबस्था गरेर झुक्याउने, १० हजार भन्दा बढि शेयर सदस्य भएको संस्थाको साधारण सभा होटेलको पाँचौं तलामा १०/१५ जना बसेर गर्ने ? यो सरासर गलत हो, निर्णय सच्याउनु पर्छ ।”
असन्तुष्ट शेयरधनी महिलाहरुले नेपाल राष्ट्र बैंक क्षेत्रिय कार्यालय भैरहवाका प्रमुख रमेश अर्याललाई भेटी ध्यानाकर्षण पत्र समेत दिएका छन् । “नेपाल राष्ट्र बैंकलाई समेत गुमराहमा पारेर गरिएको सामान्य एउटा बित्तिय संस्थाको साधारण सभामा हातहतियार गोलीगट्टा सहितका प्रहरीहरु तैनाथ गरेर, संस्थासँग असम्बन्धित ब्यक्तिहरु भाडामा ल्याएर गुण्डागर्दी शैलीमा सभास्थललाई घेराबन्दी गरेर, कर्मचारी र शेयरधनीहरुलाई प्रबेशमा रोक लगाएर के गर्न खोजिएको हो ?”—शेयरधनी महिलाहरुले प्रश्न गरेका छन् । संचालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतमाथि तत्काल छानविन गरि कारबाही गर्न उनिहरुले माग गरेका छन् ।
यसैबिच ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा विवादमा तानिएको नेपाल राष्ट्र बैंक भैरहवा कार्यालयले जनाएको छ । महिला शेयरधनीहरुको निवेदन उपर आवश्यक छानविन गरि उचित कारबाही हुने बैंकका प्रमुख रमेश अर्यालले बताएका छन् ।
शेयरधनीहरूले कार्यकारी प्रमुख श्यामकुमार कटुवालमाथि अपारदर्शी ढंगले कर्मचारी नियुक्ति गरेको, संस्थालाई आर्थिक भार पर्नेगरि महँगो गाडी खरिद गरेको, कार्यालय खर्च बढाएको लगायत आर्थिक अपचलनको गम्भीर आरोप लगाएका छन् । साथै, “मर्जर नगरे पिसिए लाग्छ“ भन्दै कर्मचारीमाथि दबाब दिएको पनि उल्लेख छ ।
अर्कोतर्फ, कम्पनी ऐनविपरीत एक व्यक्ति सिइओ र कम्पनी सचिव रहेको भन्दै यो राष्ट्र बैंकको नियमविपरीत भएको पनि उल्लेख गरेका छन् । मनपरि रुपमा ४०% भत्ता वृद्धि गरी संस्थालाई आर्थिक भार थपिएको विषयमा पनि छानबिनको माग गरिएको छ ।
शेयरधनी महिलाहरू भन्छन्, “१० वर्ष बितिसक्यो, न लाभांश आयो, न बोनस । घरको गाँस काटेर लगानी गरेका छौं, तर अधिकार पाएका छैनौं ।” उनीहरूले विवादास्पद मर्जर निर्णय खारेज गर्न, पुनः सबै शेयरधनीको उपस्थितिमा सभाको आह्वान गर्न, र दोषीलाई कारबाही गरी संस्थामा पारदर्शिता कायम गर्न राष्ट्र बैंकसँग माग गरेका छन् ।
बिगतमा ग्रामिण बिकास बैंकका आधारशिलाका रुपमा रहेका संस्थापक शेयरसदस्य महिलाहरु भनेर चिनिएका महिला संस्थापक शेयरधनीहरुलाई सभास्थल प्रवेशमा रोक लगाएर, कर्मचारीहरुको बिरोध प्रदर्शनलाई समेत बेवास्ता गर्दै साधारण सभामा सर्लाही मलंगवाको समाज बिकास लघुवित्त वित्तिय संस्थासँग तत्काल मर्ज गर्ने निर्णय गरिएकोमा अधिकांश शेयरधनी र कर्मचारीहरुको बिमती रहेको थियो ।
संचालक समितिले शेयरधनीहरुलाई गुमराहमा पार्न साधारण सभा गर्ने स्थान पटकपटक परिवर्तन गरि अनियमित ढंगले गरिएको साधारण सभा र साधारण सभाको निर्णयप्रति हामी घोर बिरोध गर्दछौं भनि सो विज्ञप्तीमा जनाइएको छ ।
यसअघि संस्थाका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले ५५० जना कर्मचारी नियुक्ती गर्दा गैरकानुनी र अपारदर्शी ढंगले भर्ना गरेको, महंगा गाडी खरिद गरेको,आदी विषयमा उनिहरुले उल्लेख गरेका छन् ।
संस्थाको संचालक समितिको बैठक केन्द्रिय कार्यालय बुटवलमा नगरि काठमाडौंका तारे होटेलहरुमा गर्ने, प्रमुख कार्यकारी अधिकृत काठमाडौं जाँदा आफु जहाजबाट जाने र गाडी सडक मार्गबाट पठाउने गरेको, कार्यालय संचालन खर्च अनावश्यक बढाएको लगाएत संस्थाको हित बिपरित आर्थिक अपचलन समेत गरेको, तत्काल मर्जर नगरे संस्थालाई पिसिए लाग्छ भन्दै धम्काउने गरेको सो अपिलमा उल्लेख छ ।