
काठमाण्डौ – नेकपा एमालेको सचिवालय बैठकले पार्टी विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ।
हिजो बसेको सचिवालय बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन्।
विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको हो।
त्यस्तै पार्टीमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तह कायम रहनेछ। प्रस्तावित नयाँ संरचनाअनुसार केन्द्रीय कमिटी २५१ सदस्यीय हुने र त्यसको एकतिहाइ अर्थात् ८४ जना पोलिटब्युरोमा रहने प्रस्ताव गरिएको छ।
सचिवालयको व्यवस्थालाई हटाउने गरी पदाधिकारी नै स्थायी कमिटीको रूपमा काम गर्ने प्रस्ताव गरिएको छ। सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पदलाई विधानबाट हटाउने प्रस्तावमा पनि सहमति जुटेको नेताहरुले बताएका छन्।
सचिवालयबाट पारित भएको प्रस्ताव आज बस्ने पोलिटब्युरो बैठकमा पेश हुनेछ । त्यसपछि साउन ५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठकले त्यसमा छलफल गर्नेछ।
पोलिटव्युरो र केन्द्रीय कमिटीमा छलफल भएर भदौमा बस्ने विधान महाधिवेशनले प्रस्ताव पारित गरेपछि ११ औ महाधिवेशनबाट कार्यान्वयनमा आउनेछ ।
नेकपा एमालेको सचिवालय बैठकले पार्टी विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ ।