
काठमाडौं - नेपाल निर्माण व्यवसाय क्षेत्रका अग्रज तथा जनता टेलिभिजनका अध्यक्ष शेखर आचार्यको निधनप्रती नेकपा एकीकृत समाजवादीले दुःख व्यक्त गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले सोमबार शोक वक्तव्य जारी गर्दै आचार्यको निधनले पार्टी, समाज र राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्। एकीकृत समाजवादीका सल्लाहकार परिषद सदस्य समेत रहेका आचार्यको निधनले ठूलो क्षती पुगेको अध्यक्ष नेपालले उल्लेख गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ, “उनले सामाजिक, व्यवसायिक तथा राजनीतिक क्षेत्रमा पुर्याएको योगदानलाई पार्टीले उच्च मूल्यांकन गर्दछ। उहाँको निधनले हामी सबैलाई स्तब्ध र दुःखी बनाएको छ।” विज्ञप्तीमा आचार्यले निर्माण व्यवसाय क्षेत्रमा सम्मानजनक छवि कायम गर्दै सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका खेलेको स्मरण गरिएको छ।
उनले विभिन्न सामाजिक संघ–संस्थामा आवद्ध भई समाजसेवा, रोजगारी सिर्जना, व्यवसायिक उत्थान र राजनीतिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिएका थिए। पार्टी अध्यक्ष नेपालले दिवंगत आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।