
बुटवल - पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन् । खरेल एक वर्षका लागि निलम्बनमा परेका हुन् । साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ ।
रुपन्देहीको देवदहका खरेललाई राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ दशौं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९ र ११ गते पोखरा, कास्कीद्वारा संशोधितको धारा ४१ तथा धारा ४२ (क) र (ख) बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूवाट पदमुक्त गर्दै, एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ ।
संघको पोखरामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा स्पष्टीकरण सोधिएकोमा खरेलले गैरजिम्मेवार र अराजक जवाफ पठाएको, केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश कमिटीको सचिवालय बैठक राखेको र स्वेच्छाचारी तथा मनोमानी गतिविधि गरेको आरोप लगाइएको छ ।
खरेलसँग सोधिएको स्पष्टीकरणमा १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमण्डलका सदस्यहरूमाथि अशिष्ट र अभद्र व्यवहार गरेको, प्रतिनिधिहरूलाई धम्काएको र सामाजिक संजालमा पार्टी नेतृत्वनाई लाञ्छना लगाउने र मानहानी गर्ने लगायतका गतिविधि गरेर पार्टी तथा संगठनको हितमा नकारात्मक असर पारेकोले तीन दिनभित्र भौतिकरुपमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको थियो ।
खरेलले भौतिकरुपमा उपस्थित नभई इमेलमार्फत तीन पेज लामो स्पष्टीकरण दिंदै आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गरेका थिए । उनले महाधिवेशनमा अध्यक्षमा सुमन पुरीलाई समर्थन गरेको तर, कसैलाई अभद्र व्यवहार नगरेको, सामाजिक संजालमा नेतृत्व परिवर्तनको कुरा उठाउनु अपराध नभएको जवाफ फर्काएका थिए ।
उनले महाधिवेशनमा अध्यक्षमा सुमन पुरीलाई समर्थन गरेको तर, कसैलाई अभद्र व्यवहार नगरेको, सामाजिक संजालमा नेतृत्व परिवर्तनको कुरा उठाउनु अपराध नभएको जवाफ फर्काएका थिए । ‘ उनले निलम्बनको निर्णय अन्यायपूर्ण र पुर्वाग्रहबाट प्ररेरित भएकाले आवश्यक परे समानान्तर कमिटी बन्ने बताए । स्रज देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा हुन् ।