
बुटवल - सहकारी ठगी प्रकरणमा कारागारमा रहेका सभापति रवि लामिछानेलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता र सांसदहरु मँगलबारदेखि रुपन्देहीमा जम्मा भएका छन् ।
पार्टी उपसभापतिद्वय डिपी अर्याल, डा। स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झासहितका सांसदहरु रुपन्देही आएका हुन् । बाँकी सांसदहरु पनि आज रुपन्देही आएर रविलाई भेट्दै छन् ।
रुपन्देही ३ मा हुने उपनिर्वाचनलाई लक्षित गरेर रास्वपाले रुपन्देही आएको रास्वपा सांसदहरु आजै रुपन्देहीमा संसदीय दलको बैठक समेत बस्दै छन् ।
संसदीय दलको बैठक गौतमबुद्ध विमानस्थल अगाडि रहेको होटेल रमादामा हुने पार्टी जिल्ला सभापति डा। बुद्धिप्रसाद शर्माले जानकारी दिए ।
रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार पार्टीका सांसदहरु आज र भोलि दुई दिन भैरहवा एवं रुपन्देही क्षेत्र नं ३ मा रहनेछन् ।
संसदीय दलको बैठक सकिएपछि पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सांसदहरु पनि सहभागी हुने कार्यक्रम रहेको छ ।
रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनमा मतदाताले कस्तो उम्मेदवार चाहेका छन् भनेर उनीहरुको मनोभावना बुझ्ने, पार्टी संगठनको विषयमा जिल्ला नेताहरुसँग छलफल गर्ने कार्यक्रम समेत तय भएको प्रमुख सचेतक परियारले जानकारी दिए ।
रुपन्देही क्षेत्रनम्बर ३ का आगामी कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।