काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र स्थायी समितिको बैठक आज तेश्रो दिन पनि केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको छ ।
साउन १६ गते देखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको एजेन्डामाथि नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन् ।
शनिबार बसेको बैठकमा पदाधिकारी, अनुशासन आयोग र स्थायी समिति सदस्य गरी २५ जनाले धारणा राखेका थिए । आज बाँकी पदाधिकारीहरूले धारणा राख्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् ।
बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारेमा ब्रिफिङ गरेका थिए । एजेन्डाका रूपमा मध्य पहाडी केन्द्रित अभियानलाई निरन्तरता दिने, केन्द्रीय समितिको बैठकबारे मिति तय गर्ने, समाजवादी मोर्चालाई थप विस्तार गर्ने, सङ्गठन निर्माण, कार्यविभाजन र आन्तरिक एकतालाई सुदृढीकरण गर्ने, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप, संसदमा विचाराधीन विधेयक, जनजीविका लगायत समसामयिक प्रस्ताव तयारसम्बन्धी एजेन्डा उनले पेस गरेका थिए ।

