Lumbini Rise
मिडिया काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व सुनिश्चत गर्न माग

काठमाडौँ -  मिडिया काउन्सिलमा अनलाइन टिभी पत्रकारहरुको प्रतिनिधित्व सूनिश्चित गर्न अनलाइन टिभी पत्रकार संघ, नेपालले माग गरेको छ । काउन्सिल सम्वन्धी विधेयकमा छलफल चलाईरहेको संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति अम्मर वहादुर थापालाई सुझावपत्र बुझाउदै संघले प्रतिनिधित्वको माग गरेको हो ।

विधेयकको दफा ६ घ मा छापा, अनलाईन, रेडियो र टेलिभिजनका प्रकाशक, सम्पादक, श्रमजीवी पत्रकारहरुको प्रतिनिधित्व हुने व्यवस्था गरिएपनि अनलाइन टिभीलाई भने वेवस्ता गरिएको भन्दै संघले समितिको ध्यानाकर्षण गराएको हो।

संघको तर्फबाट अध्यक्ष जीवन भण्डारी नेतृत्वको टोलीले सभापति थापालाई सिंहदरवारस्थीत कार्यकक्षमै भेटेर पछिल्लो समयमा सबैभन्दा बढी प्रभावकारी भएका र संख्याको हिसावले पनि सबैभन्दा धेरै रहेका अनलाइन टिभीहरुको प्रतिनिधित्व काउन्सिलमा हुनुपर्ने माग राखेको हो ।

अहिलेको प्रेस काउन्सिलमा पनि सबैभन्दा धेरै विवाद र उजुरी अनलाइन टिभीकै बारेमा पर्ने गरेकाले पनि त्यसको सम्वोधन गर्न र न्यूनीकरण गर्न काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व हुनु पर्ने अध्यक्ष भण्डारीको भनाई थियो ।
उहाँले परम्परागत मिडियाबाट प्रतिनिधित्व गर्नेहरुले नयाँ मिडियाको समस्या सम्वोधन गर्न नसक्ने र प्राविधिक हिसावले पनि काउन्सिलमा अनलाइन टिभीका बारेमा जानेको व्यक्ति अत्यावश्यक भइसकेको तर्क गरे । 

संघको तर्फबाट सभापति थापालाई दिएको सुझावपत्रमा लेखिएको छ, “काउन्सिलमा सबैभन्दा धेरै उजुरी पर्ने, सबैभन्दा धेरै विकास हुदै गएको र सबैभन्दा धेरै प्रभावशाली हुदै गएको अनलाइन टिभीको प्रतिनिधित्व अनिवार्य हुुनुपर्दछ । माध्यम अनुसारको समावेशी प्रतिनिधित्वसँगै प्राविधिक, व्यवहारिक र न्यायोचित दृष्टीकोणले पनि काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व आवश्यक छ ।”

प्रेस काउन्सिलकै अघिल्लो बर्षको विवरण अनुसार देशभरी नियमित प्रकाशित सबै प्रकारका पत्रिकाको संख्या ७७९ रहेको, प्रसारण अनुमति लिएका रेडियोको संख्या ११९२ र टिभीको संख्या २४६ रहेकोमा अनलाइनको संख्या ४६२२ र अनलाइन टिभीको संख्या त्यो भन्दा धेरै रहेको अध्यक्ष भण्डारीको दावी छ ।

घट्दै गएका सञ्चार माध्यमको भन्दा बढ्दै गएका सञ्चार माध्यमको प्रतिनिधित्व बढी हुनु पर्ने बताउदै उनले अनलाइन टिभीको प्रतिनिधित्वको व्यवस्था नभएमा काउन्सिलमा व्यवहारिक समस्या हुने र काउन्सिल नै असान्दर्भिक हुने बताए । उनले अनलाइन टिभी बढी प्राविधिक र नयाँ माध्यम भएकाले त्यसलाई हेर्न छुट्टै पुर्णकालिन निर्देशकको पनि व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

काउन्सिल आफैले र पत्रकार महासंघले हालै अनलाईन टिभीलाई पत्रकारिताको दायरामा ल्याएर व्यवस्थीत गर्दै जिम्मेवार बनाउनु पर्ने निर्णय गरेकाले पनि काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व स्वभाविक भएको अध्यक्ष भण्डारीको भनाई छ ।

संघले काउन्सिललाई स्वायत्त बनाउन काउन्सिलको सिफारिस समिति, वोर्डको गठन तथा कारवाही प्रक्रिया लगायतका विधेयकको २८ ठाउँमा संशोधनका लागि सुझाव दिएको छ ।

संघको सुझावपत्र बुझेपछि समितिका सभापति थापाले संघको सुझावलाई सकारात्मक रुपमा लिएको बताउदै समितिमा छलफल गरेर व्यवहारिक सुझावहरुलाई समेट्ने आश्वासन दिए । 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update