Lumbini Rise
गुनासो रहित ढंगले काम गर्न सुझाब

दाङ- घोराही उपमहानगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन प्रणालीका बिषयमा वडासचिब र कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको छ ।

सामाजिक सुरक्षा तथा पन्जिकरण शाखाको आयोजनामा कर्मचारीहरुको क्षमता विकासका लागि चार दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । 

अभिमुखिकरण कार्यक्रमको समापन गर्दै नगर प्रमुख नरुलाल चौधरीले नागरिकहरुको सेवा प्रबाहलाई छिटोछरितो र चुस्त बनाउन नै नागरिकहरुको सन्तुष्टिहरुसँग जोडिने बताए।

कर्मचारीको व्यवहार र सेवा प्रबाहमा उत्कृष्टता नै नगरको पहिलो प्राथमिकता हुने उनले उल्लेख गरे। गुनासोरहित सेवा प्रबाहमा प्रतिबद्ध भएर काम गर्न सबै कर्मचारीलाई नगर प्रमुख चौधरीले आग्रह गरे। काममा चुस्तता र कानुन कार्यान्वयनलाई अक्षरस पालना गर्न उनले सुझाब दिए।

जनताबाट त्यस्ता गुनासो नआएको तर सजक भएर सेवामा लाग्नु पर्ने उनको जोड छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले सेवा प्रबाहमा एकरुपता र उत्कृष्टता प्रदान गर्न आग्रह गरे ।

कर्मचारीहरुको व्यवहार र सेवा छिटोछरितोमा नै नगरको समग्र सेवा प्रबाह देखिने उनको भनाइ छ । 

तालिममा सहभागी वडा नम्बर १६ का सचिब तेजा गैरेले स्थानीय सरकारको आधार नै वडा कार्यालयबाट प्रबाह हुने सेवा भएकाले यस्ता तालिम र क्षमता विकासको कार्यक्रमले काममा चुस्तता ल्याउने उल्लेख गरे । कार्यक्रमको सहजिकरण शाखा प्रमुख दिवाकर योगीले गरे।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update