Lumbini Rise
वाइसिएलका पाँच निवर्तमान उपाध्यक्षलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने माओवादी निर्णय


काठमाडौं -नेकपा माओवादी केन्द्रले पार्टीको युवा संगठन वाइसिएलका निवर्तमान पाँच उपाध्यक्षलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।

साउन १६ देखि १९ सम्म काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो ।बैठकको निर्णयबारे शुक्रबार सर्कुलर जारी गर्दै माओवादीले ५ जना वैकल्पिक केन्द्रीय सदस्य थपेको जानकारी गराएको हो ।

यो निर्णयअनुसार वाइसिएलका पाँच निवर्तमान उपाध्यक्षहरू उमेश घोरासैनी,मञ्जु बम, केहरसिंह कुँवर, गोगन मल्ल र ज्ञानबहादुर ढुंगाना अब वैकल्पिक केन्द्रीय सदस्य बन्नेछन् ।

यस्तै बैठकले महाधिवेशनसम्म जति पनि वैकल्पिक केन्द्रीय सदस्य बनाउन सक्ने निर्णय गरेको छ ।पार्टी विधानको व्यवस्थाअनुसार कार्यसमितिको बढिमा ५० प्रतिशतसम्म हुने गरी वैकल्पिक सदस्यहरू बनाउन सकिने प्रावधान छ ।

‘तर पार्टी एकता र समायोजन पछिको सन्तुलन मिलाउने क्रममा केही वैकल्पिक सदस्यहरू थप्नुपर्ने भएकाले आगामी केन्द्रीय समितिको बैठक र विधान अधिबेशनप्रति जवाफदेही हुनेगरी उक्त प्रतिशतमा थपघट गर्न सकिने निर्णय गरिएको छ,’ सर्कुलरमा उल्लेख छ, ‘वैकल्पिक सदस्य थप गर्नुपर्दा प्रदेश समन्वय कार्यलयहरुको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने छ ।’

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update