Lumbini Rise
रुपन्देही क्षेत्र नम्बर ३ मा एमालेबाट चार जनाको आकाक्षा


बुटवल– रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चारजनाले उम्मेदवार बन्न आकांक्षा देखाएका छन् । शुक्रबार भैरहवामा बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको तेस्रो बैठकमा चार नेताले आकांक्षा देखाएका हुन् ।

बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, नेता एवं व्यवसायी शशि पौडेल, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) तथा एमाले लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद अधिकारी र नेता यज्ञजित शाहले उम्मेदवार बन्ने औपचारिक रुपमा आंकाक्षा व्यक्त गरेको पार्टीले जनाएको छ ।

भट्टराई रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज तथा पूर्व राष्ट्रिय सभा सदस्य हुन् । शाह एमालेका केन्द्रीय विभागका सदस्य तथा पूर्व प्रधानमन्त्री डा. केआई सिंहका छोरा पनि हुन् । पौडेल रुपन्देहीमा सफल पशुपालक तथा अष्ट्रिज फर्मका सञ्चालक हुन् । 
यसअघि उम्मेदवारको आकांक्षीका चर्चामा रहनुभएका पार्टीका पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने र केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले शुक्रबारको बैठकमा भने चाहना राखेका थिएनन् ।

एमाले केन्द्रले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न भनेको छ । तर, एमालेबाट महिलाहरुले उम्मेदवार बन्न अझै आकांक्षा देखाएका छैनन् । एमाले रुपन्देहीले केही दिनमै उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गर्ने तयारी गरेको छ ।

उपनिर्वाचनका लागि एमाले केन्द्रले भदौ १५ गतेभित्र उम्मेदवारका आकांक्षीहरूको नाम पठाउन समयसीमा तोकेको छ । पार्टी केन्द्रीय कमिटी बैठकले एक महिलासहित तीनजनाको नाम सिफारिस गरेर पठाउन निर्देशन दिएकोले दुईजना पुरुष र एक जना महिलाको नाम पठाइने पार्टीको जिल्ला अध्यक्ष यज्ञ गैरेले जानकारी दिए । 

२०७९ साल मंसिर ४ गते रुपन्देही–३ मा भएको निर्वाचनमा एमालेको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का उम्मेदवार दीपक बोहरालाई विजयी भएका थिए । तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित बोहराको २०८१ चैत १९ गते निधन भएपछि उक्त पद रिक्त भएको छ । 

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update