
बुटवल- नेकपा एमाले का सचिव तथा प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले समयमै योजना सम्पन्न गर्न सबैको साझा संकल्प र प्रतिवद्धता आवश्यक रहेकोमा जोड दिए।
उनले समयमै छिनोफानो हुन नसक्दा योजना प्रभावकारी रुपमा सञ्चालन र सम्पन्न हुन नसक्ने बताए।रोहिणी गाउँपालिकामा आइतबार आयोजित संघीय योजना कार्यान्वयन सहजीकरण बैठकमा सचिव विश्वकर्माले यस्तो बताए।
उनले ले समयमै योजना प्रारम्भ र सम्पन्न गर्न समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए।उनले रोहिणी नदीको संरक्षणमा समेत जुट्नुपर्ने आवश्यकता रहेको औल्याए। ‘
गत आर्थिक वर्षदेखि आर्थिक वर्षको सुरुमा यस्ता बैठक गर्दै आएका छौं, यसले बजेटको प्रकृति, त्यो योजनासँग जोडिएका खानेपानी, विद्युतको अवस्था बुझ्न र त्यहाँ रहेका समस्याको समाधान गर्न मद्दत पुग्छ, ’उनले भने।
पूर्वमन्त्री समेत रहेकाविश्वकर्माले इमान्दारिताका र जनताप्रति समर्पण भावका साथ काम गरिरहेको दावी गरे। उनले धकधई–भगवानपुर सडकखण्डका लागि ३ करोड रुपैयाँ विनियोजन भएको जानकारी दिए।
त्यस्तै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले विकासको काममा पछाडि नहट्ने दावी गरे । उनले विकास निर्माण कार्यमा आउने अवरोध सबै मिलेर हटाइने बताए ।
रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खाँले भगवानपुर नाकादेखि धकधई मुख्य रुपमा बढी आवतजावत हुने सडकखण्ड भएको बताए ।
नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्रले आर्थिक वर्ष सुरुवातसँगै आयोजना गरिने यस्ता बैठकले काम गर्ने क्रममा समस्या आउन नदिने बताए ।
संघीय आयोजना कार्यान्वयन इकाई, रुपन्देहीका इञ्जिनियर सुशिल रसाईलीले भगवानपुर–धकधई सडकखण्ड निर्माणका क्रममा आइपर्ने समस्या समाधानका लागि सबैको योगदान आवश्यक रहेको बताए ।
नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्य प्रदीप कुमार पाण्डेयले निर्माण कार्यमा भएका जटिलता फुकाउनुपर्ने बताए।
बैठकमा रोहिणी गाउँपालिकाको उपाध्यक्ष शिवकान्ती हरिजन, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य संजय कुमार गुप्ता, रुपन्देही क्षेत्र नम्बर १ का संयोजक वेद गिरी लगायतले बोले।