
बुटवल - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा रहेका रुपन्देही कारागारको अवस्था सामान्यभन्दा कमजोर देखिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ।
आयोगका प्रतिनिधिहरूले कारागारको अनुगमनपछि लामिछाने राखिएको कोठामा एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको बताएका छन् ।
आयोगकी प्रवक्ता लिली थापाले कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको र आधारभूत सुविधाको अभाव रहेकाे बताईन। कैदीबन्दी अनुसार शौचालयको संख्या समेत अपुग रहेकाे उनले बताईन ।
रवि लामिछानेलाई राखिएको ब्लकको अवस्थाबारे बोल्दै थापाले झ्याल प्लाईउडले छोपिएकाले हावा प्रवेश गर्न सक्ने व्यवस्था नभएको बताइन् । उनका अनुसार त्यहाँ एउटा चाइनिज ब्रान्डको पंखा र अर्को पार्टी प्यालेसमा प्रयोग हुने खालको ठूलो पंखा राखिएको छ ।
सुरक्षाको कारण देखाउँदै जेल प्रशासक सुरेश भण्डारीले झ्याल बन्द गरिएको भएवनि टाेलीले झ्याल खोल्न आग्रह गरेपछि प्रशासन त्यसका लागि सहमत देखिएको थापाले जनाइन् ।
आयोगले समग्रमा कारागारभित्र मानवीय तथा आधारभूत सुविधाको सुधार आवश्यक रहेको टिप्पणी गरेको छ ।सोमबार आयोगकी आयुक्त लिली थापा सहित आयोगका लुम्बिनी कार्यालय प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बीसीसहितले कारागार निरीक्षण गरेका थिए । उनीहरूले कारागारमा रहेका लामिछानेसँग समेत कुराकानी गरेका थिए।
कुरामानीका बेला लामिछानेले भेटमा खाना र बसोबास राम्रो भएपनि एक सय दिनसम्म स्वच्छ हावामा हिँडडुल गर्न नपाएको गुनासाे गरेका थिए । उनले अदालतले अनुमति प्रदान गरिसकेको कारागार स्थानान्तरणको विषय रोकिएकामा आयोगको ध्यानाकर्षण गराएका थिए । यसबारे टाेलीले ध्यानाकर्षण भएकाे बताएकाे छ ।
भैरहवा कागारमा क्षमता भन्दा तीनगुणा बढी बन्दी राखिएकाे छ । दुई सय ५० क्षमताको कारागारमा अहिले ६ सय २८ जना कैदी, बन्दी र थुनुवा छन् ।