
बुटवल– रुपन्देही–३, मा कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारको प्रारम्भिक सूचिमा परेकी भैरहवाको सिद्धार्थनगर–८, की पुनमकुमारी अग्रवालले आफ्नो राजनीतिक निष्ठा, व्यक्तिगत र व्यावसायिक दक्षताले गर्दा नै उम्मेदवार बन्न खोजेको बताएकी छन् ।
पार्टीले उम्मेदवारका लागि छनौंट भएका रुपन्देहीका ९ जनासित उनीहरुको योग्यता र दक्षताबारे काठमाडौं बोलाएर जानकारी लिएको थियो । त्यसक्रममा उम्मेदवारबीच आयोजित छलफलमा अग्रवालले फरक प्रस्तुति दिएर आफूलाई अब्बल प्रस्तुत गरेको सहभागीले बताए ।
लुम्बिनी राइजसँग कुराकानी गर्दै उनले पहिलो नम्बरमा पार्टीको नीतिबारे उल्लेख गरिन् । रास्वपा मुलुकको लोकतान्त्रिक शक्ति रहेको, मुलुक र अन्तर्राष्ट्रिय नीति अन्य पार्टीका भन्दा राम्रा भएको जनाइन् । पार्टीले हरेक क्षेत्रमा खुल्ला स्पर्धाबाट अगाडि बढाउनु अझै महत्वपूर्ण कुरा भएको उनको भनाई छ । रास्वपाले उम्मेदवारीका लागि युवा, समावेशी, मधेशी, शिक्षित र महिला हुनुपर्नेमा जोड दिएको थियो । यसकासाथै मुलुक र समाजका लागि योगदान दिएको हुनुपर्ने आधार राखेको थियो ।
‘यी सबै मापदण्डमा म फिट छु,’ अग्रवालले भनिन्, ‘मैले १२ वर्ष अघि राजनीतिक यात्रा सुरु गरेकी थिएँ । २०७० सालमा मधेशमा अधिकारको आन्दोलन भइरहेको थियो । त्यहीबेला म समानुपातिक उम्मेदवार बनिसकेकी हुँ । त्यसक्रममा प्रत्यक्ष रुपमा जनतासित भिज्ने मौका पाएकी थिएँ ।’
उनी राजनीतिक दलले महिलालाई उपमेयरमा सिमित राखेका बेला २०७४ सालको निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाको मेयर पदमा प्रत्यासी बनेकी थिइन् । त्यसक्रममा आफूले सम्मानजनक मत प्राप्त गरेको उनले बताइन् । यसबाहेक एकेडेमिक रुपमा पनि आफू उपयुक्त रहेको उनले जिकिर गरिन् ।
‘म मेडिकल बायोलोजिष्ट हुँ,’ उनले भनिन्, ‘त्रिभुवन विश्वविद्यालय अन्तर्गत माइक्रोबायोलोजी विभागबाट सन् २०१२ मा स्नाकोत्तर पूरा गरेकी हुँ ।’ यसका साथै भारतीय राजदूतावासबाट पीएचडी स्कलरका रुपमा अवसर प्राप्त गरेकी थिइन् । ‘मेरो शैक्षिक पृष्ठभूमिका कारण पनि मैले कलेज र युवाबीच घुलमिल हुने अवसर पाएँ,’ उनले भनिन् ।
उनले मुलुकको जल्दोबल्दो समस्याका रुपमा किसानलाई मल अभाव हुनु रहेको बताइन् । प्रत्यक्ष–अप्रत्यक्ष रुपमा मुलुकमा दुईतिहाई बढी किसान रहेको ओल्याउँदै उनले उनीहरुका लागि सबैभन्दा ठूलो समस्या मलखाद रहेको बताइन् । ‘हामी चाउचाउ–बिस्कुटलाई जङ्कफुड भन्छौं,’ उनले भनिन्, ‘अहिले हामीले खाइरहेको खाद्यान्न नै ठूलो जङ्कफूडका रुपमा रहेको छ ।’ किसानहरु झन जागरुक रहेको उनले बताइन् ।
‘उनीहरु पहिला राससायनिक मल हाल्छन्, त्यसपछि विषादी प्रयोग गर्छन्,’ उनले भनिन्, ‘त्यस्तो कुरालाई चिर्दै मैले नेपालकै ठूलो अर्गानिक मल उद्योग सञ्चालनमा ल्याएकी छुँ ।’ त्यसैले माटो र मानिस जोगाउने मुलुकका ५० प्रभावशाली महिलामा आफू दरिएको पनि उनले जानकारी गराइन् ।
‘मैले आफ्नो क्षेत्र मात्र नभएर मुलुक भरका किसानसित उद्योगीका रुपमा भिज्ने मौंका पाएकी छुँ,’ उनले भनिन्, ‘मेरो यहीँ योगदानका कारण रास्वपाबाट म उम्मेदवार बन्दा मत बढाउन सहयोग पुग्नेछ ।’ अर्को महत्वपूर्ण कुरा आफू मारवाडी समुदायबाट भएको प्रष्ट पार्दै मुलुकको राजनीतिकमा परम्परादेखि मधेशी समुदायको योगदान रहि आएको र अहिले पनि उत्तिकै रहेकाले रुपन्देही–३ जस्तो औद्योगिक हवमा एउटा उद्योगी र राजनीतिककर्मीलाई उम्मेदवारीबाट बञ्चित गर्दा कतै न कतै कमजोरीका रुपमा रहने उनको भनाई छ ।
‘त्यही भएर म उम्मेदवार हुनु भनेको मारबडी समुदायलाई पनि सन्देश दिने कुरा हो । यसले रास्वपाले सबै क्षेत्र समेट्ष्ट भन्ने पनि स्थापित हुन्छ,’ उनले भनिन्, ‘मधेशी समुदायका महिला पनि प्रत्यक्ष निर्वाचनमा उम्मेदवार हुन सक्षम छन् भन्ने पनि देखिन्छ ।’
अघि थप भनिन्, ‘उपनिर्वाचन त हाम्रो परीक्षा मात्र हो । लक्ष्य त २०८४ हो, त्यहीँ अनुसार तयारी गर्नुपर्छ ।’ साढे दुई वर्ष लामो रास्वपा यात्राका क्रममा आफूले कसैसित पनि झैझगडा नगरेको उनले बताइन । ‘झैझगडा गरेर अल्झिने मेरो स्वभाव छैन,’ उनले भनिन्, ‘यदी म उम्मेदवार भएर चुनाव लड्दैं गर्दा सबैलाई समेट्न सक्छु ।’
आफूलाई उम्मेदवार बनाएको खण्डमा पार्टीलाई पछुताउनु पर्ने अवस्थाको निर्माण नहुने गरि भूमिका निभाउने उनले बताइन् । ‘म काम गर्छु, तर अनावश्यक प्रचार गर्दिनँ,’ उनले भनिन्, ‘म स्टेट फरवार्ड छु, कसरी बलियो हुनुपर्छ भन्ने थाहा छ । डिल गर्न सक्छु ।’
उनले गौतमुबद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नु, किसानले समयमै मल नपाउनु, लागूऔषध, सीमा अपराध, पूर्वाधारविकास, शिक्षा, स्वास्थ्य, महिलाहरुमा सचेतना कार्यक्रम जस्ता क्षेत्रका समस्या रहेको जनाउँदै यी समाधानमा पहल गर्ने जनाइन् ।
रास्वपाले आकांक्षी ९ जनामध्ये जसलाई उम्मेदवार बनाए पनि आफूले जिताउन लाग्ने बताइन् । ‘मेरो दावी मैले टिकट पाए पछुताउन नपर्ने गराउँछु भन्ने नै हो’, उनले भनिन् । यस्तै, पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध खरो उत्रिने उनको भनाई छ ।