
कपिलवस्तु -अनुदानको १ सय ९७ बोरा युरिया मल कृषकलाई नदिई अन्यत्र बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
मायादेवी गाउँपालिकास्थित डुमरामा रहेको चेतना विकास कृषि सहकारीले वडा नम्बर ५, बलुहवाका कृषकलाई वितरण गर्न कृष्णनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेसनबाट किनेर ल्याएको थियो । तर, उक्त मल वितरण नगरेको भन्दै छानबिन गरी कारबाही गर्न माग गर्दै साउन ११ गते १५ जना स्थानीयले मायादेवी गाउँपालिकामा निवेदन दिएका थिए ।
घटना बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्देशनपछि उक्त सहकारीका सञ्चालक वशिष्ठ पाण्डेलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो । उक्त विषयमा छानबिनपछि मुद्दा चलाउने तयारी गरिएको प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताए ।
सो मल कृषकलाई वितरण नगरी सहकारीले अन्यलाई बेचेको बताइएको छ । ५० किलोको एक बोरा युरिया मललाई ९ सय ५० रुपैयाँमा बिक्री गर्नुपर्नेमा कृषि सहकारीले दोब्बर बढी मूल्यमा बिक्री गर्ने गरेको कृषकहरूको आरोप छ ।