Lumbini Rise
गुल्मीका निर्माण व्यवसायी आन्दोलित

गुल्मी -भुक्तानी नपाएको पीडामा परेका गुल्मीका निर्माण व्यवसायीहरु आन्दोलित भएका छन् । गत आर्थिक वर्ष २०८१(०८२ मा विभिन्न क्षेत्रमा निर्माणको कार्य गरेर पूरा भइसक्दा पनि भुक्तानी नपाएको भन्दै यहाँका निर्माण व्यवसायीले सडक पूर्वाधार विकास कार्यालय अगाडि धर्ना दिएका हुन् । 

“हाम्रो पसिना, हाम्रो अधिकार” भन्ने मूल नारासहित धर्ना दिएका निर्माण व्यवसायीहरुले आव २०८१(०८२ मा सम्पन्न भएका निर्माण कार्यहरुको बिल भुक्तानी अझैसम्म नभएको बताएका छन् ।

प्रदेश सरकारले असार १५ मै खाता बन्द गरिसकेको भए पनि हालसम्म खाता सञ्चालनमा ढिलाइ भइरहेको कारण थप आर्थिक सङ्कटमा परेको गुनासो व्यवसायीहरुले गरेका छन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालयले समयमै खाता सञ्चालन नगरेको कारण ठेकेदारहरुलाई श्रमिकको पारिश्रमिक तिर्न, ऋण चुक्ता गर्न र दैनिक खर्च धान्न कठिन भएको गुनासो गरेका छन् । 

निर्माण व्यवसायी सङ्घ गुल्मीका महासचिव हरिकुमार श्रेष्ठले तत्काल भुक्तानीको अवस्था सिर्जना नभएमा जस्तोसुकै कठोर आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए।

हाम्रो श्रमको उचित सम्मान हुनुपर्छ, रोजीरोटी सुरक्षित हुनुपर्छ । घर(सम्पत्ति बन्धक राखेर सम्पन्न भएका योजनाहरुको रकम तुरुन्त भुक्तानी गरिनुपर्छ । कृत्रिम अभाव, कालोबजारी र भ्रष्टाचारको अन्त्य हुनुपर्छ । अनि भुक्तानी गर्न नसक्ने प्रदेश सरकार खारेजीको माग पनि हाम्रो हो, उनले भने । 

व्यवसायीहरुले प्रदर्शनका क्रममा आफ्नो मागसहितका ब्यानर र प्लेकार्ड बोकेका थिए । ब्यानरमा “भुक्तानी देऊ, श्रमको सम्मान गर”, “बजेट अभावको बहाना बन्द गर”, “भुक्तानी नगर्ने सरकारको खारेजी चाहिन्छ” जस्ता नाराहरु लेखिएका थिए ।

गत आर्थिक वर्षमा जिल्लाभित्र निर्माण सम्पन्न गरेका धेरै परियोजनाहरुको रकम सङ्घीय, प्रदेश र स्थानीय सरकारको बजेट अभावको कारण रोकिएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा ती रकम भुक्तानी हुने भनिए पनि अझैसम्म पाउन नसक्दा व्यवसायीहरु ठूलो आर्थिक सङ्कटमा परेको गुनासो उनले गरे।

यसअघिसम्म निर्माण व्यवसायीहरुले संयम अपनाएर प्रतीक्षा गरे पनि, अहिले परिस्थिति असह्य बन्दै गएको र आर्थिक दबाब चुलिँदै गएपछि आन्दोलनको बाटो रोज्न बाध्य भएको महासचिव श्रेष्ठले बताए। 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update