Lumbini Rise
रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण शुक्रबारदेखि रुपन्देहीको भैरहवामा सुरु भएको छ । प्रशिक्षण भैरहवास्थित दरबार बैंक्वेटमा शनिबारसम्म सञ्चालन हुने रास्वपा लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरेले बताए।

प्रशिक्षण कार्यक्रम अन्तर्गत शुक्रबार उपसभापति डा। स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, केन्द्रीय सदस्य सुमना श्रेष्ठ, डा। तोसिमा कार्की र क्रान्तिशिखा धितालले सहजीकरण गर्नुहुने सह–महामन्त्री तथा प्रशिक्षण विभाग प्रमुख विपिन कुमार आचार्यले जानकारी दिए। 

त्यस्तै शनिबार महामन्त्री कबिन्द्र बुर्लाकोटी, सह–महामन्त्री विपिन कुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सचिव एवं केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी र लुम्बिनी प्रशिक्षण विभाग प्रमुख राजकुमार सुवेदीले सहजीकरण गर्नुहुनेछ ।‘

प्रशिक्षणमा केन्द्रको संरचनाले दिनुपर्ने र तलको संरचनाले मागेका विषयका बारेमा छलफल हुन्छ, ’उनले भने।प्रशिक्षणमा रुपन्देही–३ मा कार्तिक १७ हुने उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारको आकांक्षीहरुको परिचयात्मक कार्यक्रम समेत हुने सह–महामन्त्री आचार्यले जानकारी दिए। 

प्रशिक्षणमा पालिकाका पदाधिकारी, सदस्यहरु लगायत गरी २५० जनाको सहभागीता रहेको रास्वपा प्रदेश सभापति देवराज पाठकले जानकारी दिए । 

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टी संगठन निर्माणकै क्रममा रहेको र यो प्रशिक्षणपछि संगठन अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गरे। उनले प्रशिक्षण कार्यक्रमले नेतृत्व निर्माणमा अहम भूमिका खेल्ने बताए।

प्रशिक्षण उद्घाटन अघि पत्रकारहरुसंँग कुराकानी गर्दै पार्टी महामन्त्री बुर्लाकोटीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बोल्ने मञ्चको दुरुपयोग गरेको टिप्पणी गरे।

बिहीबार संसद्मा आफ्नो पार्टीका नेताहरूलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति इंगित गर्दै बुर्लाकोटीले मुलुकमा सुशासन कायम गर्न समय खर्चिनुपर्ने प्रधानमन्त्रीले विपक्षीको आलोचनामै आफू बोल्ने मञ्चको दुरुपयोग गर्नुभएको बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update