Lumbini Rise
विरोधपछि नवलपुरको पहाडी क्षेत्रमा इलाका प्रशासन स्थापना गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र 

बुटवल– नवलपरासी (पूर्व) को पहाडी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै गहृमन्त्री रमेश लेखकलाई जनप्रतिनिधिहरुले ज्ञापनपत्र बुझाएका छन् ।

नवलपुर क्षेत्र न. १ का प्रतिनिधिसभा सदस्य डा. शंशाक कोईराला, नवलपुर क्षेत्र न. २ का सांसद विष्णुकुमार कार्की, गण्डकी प्रदेश सांसद महेन्द्रध्वज जिसि, पूर्व सांसद विष्णु प्रसाद लामिछाने,बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी, बौदीकाली गाउँपालिकाका अध्यक्ष  प्रकाश ओझा लगायतले हस्ताक्षर गरी ज्ञापनपत्र बुझाएका हुन् ।

नवलपुरको पहाडी क्षेत्रका नागरिकहरुले इलाका प्रशासन थप नभएकोमा विरोध गरेपछि शुक्रबार गृहमन्त्री लेखकलाई ज्ञापन पत्र बुझाइएको हो । 

538501754_1074732374866902_4290551753651582644_n-1756481817.jpg


दुर्गम पहाडी क्षेत्रमा अवस्थित बुलिङटार र बौदिकाली गाउँपालिका भौगोलिक हिसावले अत्यन्त विकट भएकाले कावासोती सम्म सेवा लिन अपायक पर्ने भएकाले इलाका प्रशासन कार्यालय स्थापना गर्न गृहमन्त्रीको ध्यानआर्कषण गराइएको छ ।

‘विभिन्न समयमा माग हुँदै आएको र जिल्ला स्तरबाट आवश्यक कागजात पुरा गरी आ.व. २०७८-७९, दर्ता नं.२८ को निवेदन २०७८/१०/६ गते यस मन्त्रालयमा समेत दर्ता भएकोमा उक्त कार्य कार्यान्वयनमा हालसम्म पनि नआएको हुँदा त्यस भेगका जनताहरुको समस्या बुझी अविलम्व इलाका प्रशासन कार्यालय स्थापनाको लागि हार्दिक निवेदन गर्दछौं’ ज्ञापनपत्रमा भनिएको छ।

 यस्तै पश्चिम क्षेत्रमा पर्ने विनयी त्रिवेणी गाउँपालिकाको वडा नं.६ र ७ भौगोलिक हिसावले विकट भएको र गाउँपालिकाको कार्यालय एवम् जिल्ला प्रशासन कार्यालय आउनको लागि लुम्बिनी प्रदेशको बर्दघाट नगरपालिका हुँदै लामो दुरी पार गरी सेवा लिन आउनु पर्ने भएकोले उक्त क्षेत्रको लागि पनि इलाका प्रशासन कार्यालय वा विशेष सेवा केन्द्र घोषणा गरी सेवा उपलब्ध गराउन भनिएको छ। 
सरकारले २३ वटा नयाँ क्षेत्रमा इलाका प्रशासन कार्यालय थप गर्ने निर्णय गरेपनि नवलपुर पहाडी क्षेत्रका नागरिकले विरोध गरेका थिए ।  बुलिङटार र बौदिकाली गाउँपालिकाका बासिन्दालाई लक्षित गरी बुलिङटार ६ अत्रौलीमा इलाका प्रशासन कार्यालय थप गर्न माग गरिएको थियो ।

जिल्ला राजनीतिक दल सहित स्थानीय जनप्रतिनिधिहरुले समेत गृहमन्त्रालयमा पुगेर मागपत्र बुझाएपनि सरकारको निर्णयमा नाम नआएपछि त्यसभेगका स्थानीय अगुवाहरुले सामाजिक सञ्जालमा विरोध जनाएका थिए । यसबारेमा लुम्बिनी राइजले नवलपुरको पहाडी क्षेत्रमा इलाका प्रशासन थप नभएपछि स्थानीय असन्तुष्ट शिर्षकमा समाचार प्रकाशित गरेकाे थियाे । 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update