
बुटवल– जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते लुम्बिनी प्रदेशका विभिन्न जेलबाट फरार रहेका आधा कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन ।
लुम्बिनीका विभिन्न कारागारबाट १५६९ जना कैदीबन्दीहरु फरार भएकोमा ८७९ जनालाई मात्रै प्रहरीले नियन्त्रणमा ल्याएको छ । बाँकी ६९० अझै फरार रहेका हुन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी शारदा प्रसाद चौधरीले फरार भएकाहरुलाई नियन्त्रणका लागि प्रहरीले काम गरिरहेको भएपनि अझै ६९० जना नियन्त्रण गर्न बाँकी रहेको बताए । उनका अनुसार प्रहरीले सूचना नै जारी गरेर पटक पटक फरार कैदीहरुलाई आउन भनिएपनि कतिपय फरार भएसँगै लुकेर बसेका छन् ।
भदौ २४ गते नवलपरासी, कपिलवस्तु, दाङ र बाँके जिल्लाबाट कैदीबन्दीहरु फरार रहेका भएका हुन् । भागेका कैदीबन्दीहरुको खोजी कार्य भइरहेको प्रहरी प्रमुख चौधरीले जानकारी दिए ।