
बुटवल - अर्थविद मनिकर कार्की लिखित अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति पुस्तकको दोस्रो संस्करणको साेमबार बुटवलमा परिचर्चा तथा अन्तरक्रिया गरिएको छ । आर्थिक अनुसन्धान केन्द्र नेपालको आयोजना बुटवलमा परिचर्चा तथा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राध्यापक डाक्टर बावुराम ज्ञवालीले पुस्तकमा समावेश गरिएका विषयवस्तु सबै पाठकले बुझ्ने गरि सरल भएको बताउदै देशको विकासका लागि निजि क्षेत्रको मनोवल विकास गर्नु अनिवार्य सर्त भएकोले नीति निर्माताहरुले यो पुस्तक अध्ययन गर्नका लागि सुझाव समेत दिए ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले नेपाली अर्थतन्त्रका मुख्य चुनौतिको पहिचान र दीर्घकालीन समाधानका लागि आयातित विचार नभई मौलिक विचार र मोडललाई प्राथमिकताका साथ अभ्यासमा लैजानुपर्ने बताए । नेपाली अर्थतन्त्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा यो पुस्तक सन्दर्भ सामग्री दस्तावेज बन्नेमा कुनै शङ्का नभएको बताए ।
यस्तै कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेलले राज्यले स्थानीय उद्यमीलाइ नेपाल मै लगानी र श्रम गर्ने वातावरण बनाउन ढिलाइ गर्दा युवा उद्यमी उत्पादन गर्न नसकिएको बताए । नेपाली उद्योगले विगतदेखि नै कच्चापदार्थ , जनशक्ति र नीतिगत समस्या झेलिरहेका कारणले वर्तमान पुँजी पलायनमा वृद्धि आएको बताए ।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार डा बालकृष्ण चापागाईंले पुस्तकले उठान गरेका सबालमा सुक्ष्म विश्लेषण गरेर अगाडि बढ्न आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले देशमा उत्पन्न सामाजिक आर्थिक राजनीति सङ्कटलाई समाधान गर्ने र निरासामा रहेको निजि क्षेत्रलाई उत्साहित गर्ने गरि लेखकहरु प्रस्तुत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राजेन्द्र लम्साल , कृष्ण पाण्डे , सञ्जिव भण्डारी , गणेश घिमिरे , नवीन सुनुवार लगायतले लेखकलाई आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा आफ्नो लेखकिय अनुभव र दोस्रो संस्करणको आवश्यकता बारेमा लेखक मनिकर कार्कीले प्रष्ट पारेका थिए। कार्यक्रम सस्थाका अध्यक्ष हुमराज भुसालको अध्यक्षता , कोषाध्यक्ष जीवन परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।