Lumbini Rise
रुख र माटो चोरी गर्ने पक्राउ, प्रहरीले कारवाही गर्ला त ? 

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको स्वामीत्वमा रहेको ओमसतिया ५ पट्खौलीको जाग्गाबाट माटो चोरी गर्ने र रुख कटान गरी गैरकानुनी रुपमा काम गरीरहेको गिरोहलाई पक्राउ गरी नगरपालिकाले थप कार्वाहीकालागी जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पठाएको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–५ मा पर्ने नगरपालिकाको नाममा दर्ता रहेको ६ बिघा जग्गाबाट अवैध रूपमा ठूला–ठूला रुख कटान गरी माटो ओसारपसार गर्दै गर्दा शुक्रवार नगर प्रहरीले नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो । तीनजनालाई पक्राउ गरेको छ, भने एकजना फरार छन् ।

शुक्रबारसाँझ करिब ५ बजेतिर लु १ त १६६ नम्बरको ट्र्याक्टर प्रयोग गरी उक्त जग्गामा रहेका रुख कटान तथा माटो निकासी भइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।ओमसतिया–५ गौरी बस्ने अन्दाजी २७ वर्षीय छोटु भन्ने जयप्रकाश यादव, सोही ठाउँ बस्ने अन्दाजी ५३ वर्षीय जगदीश कोइरी पक्राउ परेका थिए । सिद्धार्थनगर नगरपालिका–८ बस्ने अन्दाजी ३७ वर्षीय अनिल कुमार सराफ भने फरार रहेका छन् ।

ट्र्याक्टरसहित उनीहरूलाई सोही दिन जिल्ला प्रहरी कार्यालय रुपन्देही बुझाइएको थियो । त्यसलगत्तै सिद्धार्थनगर नगरपालिकाले उनिहरुलाई कार्वाही र थप अनुसन्धानकोलागी प्रहरीलाई पत्राचार गरेको नगरपालिकाका सुचना अधिकारी देव ज्ञवालीले जानकारी दिए । नगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गाबाट लामो समयदेखि निरन्तर रूपमा रुख कटान र माटो उत्खनन गरी अवैध निकासी भइरहेको थियो ।

पक्राउ परेकाहरू बाहेक फरार व्यक्तिलाई पनि खोजी गरी कानुन बमोजिम कारबाही गर्नुपर्ने, काटिएका रुख र निकालिएको माटोको मूल्याङ्कन गरी क्षतिपूर्ति भराइदिनुपर्ने तथा प्रचलित कानुन बमोजिम जरिवाना गर्नुपर्ने माग नगरपालिकाले गरेको छ । तर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धानमै रहेको बताएको छ ।

रुपन्देही प्रहरी प्रवत्ता सुरज कार्कीले के बिषयमा मुद्धा चलाउने भन्ने परामर्श भैरहेको बताए । आफुहरु परामर्शमा रहेको र साझँसम्ममा निस्कर्षमा पुगीने उनले बताए । 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update