Lumbini Rise
रुपन्देहीको कञ्चनका इसान शर्माको मृत्यू प्रकरण :  प्रहरी भन्छ दुर्घटना, परिवार हत्या !

बुटवल- रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरि चोकका १७ वर्षीय इसान शर्माको मृत्युबारे परिवार र प्रहरीविच कुरा बाजिएको छ । परिवारले इशानकाे हत्या भएकाे भन्दै प्रहरीले घटना माेडन खाेजेको आराेप लगाइरहेको छ । तर प्रहरीले भने इशानको गाडीको ठक्करबाट मृत्यू भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले  एक विज्ञप्ति जारी गरी इसानको मृत्युको घटना र घटनापछिको विवरणका आधारमा अनुसन्धान गर्दा उनको मृत्यु गाडीको ठक्करबाट भएको जनाएको हो । प्रहरीले यही पुस २ गते नालीमा बेहोस रहेका इसानलाई आफन्तहरुको उपस्थितिमा नालीबाट निकालेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याएको र चिकित्सकले मृत्यु भएको जानकारी गराएको विवरण विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

 

प्रहरीका अनुसार पुस २ गते इसान सम्पर्कविहीन भई खोजतलास गर्दै जाँदा ३ गते स्थानीय धौलागिरि चोक र सुनगाभाचोकको बीचमा रहेको फायरलाइन–लुम्बिनी सडक खण्डको नालीमा बेहोस रहेको फेला परेको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी घटनास्थलमा पुग्दा निजलाई आफन्तहरुले नालीबाट निकाली उपचारका लागि एम्बुलेन्समा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पु¥याइएकोमा चिकित्सकले मृत्यु भएको जानकारी गराएका थिए ।

 

प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गर्दा लु २ ख ४९४८ नं को फोर्स गाडीले ठक्कर दिई भागी सोही दिन जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका–२ मैनाबगरमा लुकाइछिपाइ मर्मत गरी पुनः सञ्चालन गरेको पत्ता लागेको विज्ञप्तिमा जनाइएको छ ।

 

ishan-1767280111.JPG


उक्त गाडीलाई पुस ७ गते प्रहरी परिचालन गरी बागलुङबाट बुटवल आउने क्रममा बुटवल उपमहानगरपालिका–३ गोलपार्कबाट सवारी चालक नियन्त्रणमा लिइएको र अन्य थप दुई जनालाई निजको घरबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले इसानलाई ठक्कर दिई फरार चालक बागलुङ बरेङ गाउँपालिका छिसा घर भई हाल जिल्ला रुपन्देही कञ्चन गाउँपालिका–४ थकाली चोक बस्ने सन्तोष क्षेत्री, सवारी भगाउन सहयोग गर्ने रुपन्देही सैनामैना नगरपालिका–५ बस्ने दीपेन्द्र भण्डारी क्षेत्री र सोही ठाउँका सन्देश क्षेत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update