
बुटवल – आज मे १ अर्थात् मे दिवस । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा विश्वभर आज मे दिवस मनाइँदैछ । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाइँदै छ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्ति विकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको माग गर्दै सुरु गरिएको मजदुर आन्दोलनको सम्झनास्वरूप विश्वभर यो दिवस मनाउने गरिन्छ । हरेक वर्ष मे महिनाको पहिलो दिन मनाउने भएकाले यसलाई ‘मे दिवस’ भनिएको हो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गर्यो र त्यसयता १८९० बाट विश्वभर श्रमिक दिवस मनाउन सुरु गरिएको हो । नेपालमा २००३ सालमा विराटनगर जुट मिलबाट श्रमिकको आन्दोलन सुरु भएको हो । २०४६ सालको राजनीतिक परिवर्तनपछि ‘मे दिवस’ विशेष पर्वका रूपमा मनाउन थालियो । सरकारले बिदा पनि दिन थाल्यो । तर, पनि नेपाली श्रमिकहरुले अझै पनि सुरक्षीत महसुस गर्न सकेका छैनन ।
श्रम ऐन, २०७४ तथा नियमावली २०७५ लाई कार्यान्वयन गर्दै २०८० साउन १ गतेबाट श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार तीन सय रुपियाँ भएको छ । हरेक वर्ष दुई वर्षमा पुनरवलोकन गर्नुपर्ने पारिश्रमिक यस पटक साउन १ गतेदेखि नयाँ लागु गर्नुपर्ने छ । यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहसचिवको संयोजकत्वमा गठिन समितिले काम गरिरहेको छ ।
रोजगारदाता अहिलेको आर्थिक मन्दीमा पारिश्रमिक नबढाउने पक्षमा छन् भने ट्रेड युनियनले अहिलेको महँगीमा सामान्य जिउन पुग्ने गरी पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गर्दै आएका छन् ।