Lumbini Rise
बुटवलको महाविर पुस्तकालय, जसको स्थापना गर्दा जेल जानुपरेको थियो


 


बुटवल –पुस्तकालय स्थापना गरेवापत जेल जानुपर्छ भन्ने सुन्दा अहिलेका पुस्तालाई पत्याउन मुस्किल पर्छ । तर, ७५ वर्षअघि पुस्तकालय स्थापना गरेवापत जेल जानुपरेको उदाहरण बुटवलमा भेटिन्छ । नेपालकै पुरानोमध्येको एक महाविर पुस्तकालय स्थापना गरेवापत तत्तकालिन राणाशासकबाट पुस्तकालयका संस्थापक ओमशंकर श्रेष्ठ र स्व.सत्यलालले ९ महिना जेल जीवन बिताउनुपरेको थियो । राणाशासन विरुद्ध राजनीतिक चेतना जागरण गरेको अभियोगमा भैरहवामा जेल सजाय भोगेका हुन् ।


विस २००४ साल असार महिनामा तत्तकालिन बटौलीमा महाविर पुस्तकालय स्थापना गरेवापत संस्थापकहरुले २००६ सालमा जेल (कारागार) बस्नुपरेको हो । ‘महाविर पुस्तकालय राणाशासन विरुद्धको आन्दोलन स्वरुप स्थापना भएको देखिन्छ’ पुस्तकालयका पूर्वअध्यक्ष एव्म बुटवलका जानकार ७५ बर्षिय देवेन्द्रराज शाक्यले भने –‘यो पुस्तकालय मात्रै थिएन, राजनीतिक जागरण जगाउने अभियान थियो ।’ बटौली बजार व्यापारिक थलो भएपनि तत्तकालिन समयमा युवाहरुले ज्ञानको ज्योति फैलाउनकै लागि पुस्तकालय खोलेको शाक्य बताउँछन् ।

‘बटौली पहाडबाट झरेकाहरुको बास र मुग्लानीहरुको व्यापरिक स्थल थियो, व्यापारमा मात्रै ध्यान नदिएर राणाशासनको बेलामा पनि मुठीधानबाट पुस्तकालय स्थापना गर्ने सोँच आउनु ठूलो कुरा थियो’ शाक्य भन्छन् –‘पुस्तकालयसँगै ज्ञानको ज्योति र चेतनाको जागरण भयो ।’ पूर्वअध्यक्ष शाक्यले भनेजस्तै राणाशासक विरुद्ध राजनीतिक जागरण जागृत गराउने पुस्तकालयअहिले भने आफै बिरामी परेको छ । राणा, पञ्चायत, बहुदल हुँदै गणतन्त्रको प्राप्तीसम्म आइपुग्दा पुस्तकालयले पाठकहरु क्रमश गुमाउँदै गएको छ । आउदो शनिबार १७ औं राष्ट्रिय पुस्तकालय दिवस समेत मनाइँदैछ । तर, नेपालकै पुरानो मध्येको बुटवलको महाविर पुस्तकालय भने पाठक नपाएर टुहुरो बनेको छ ।


कुनै बेला प्रमुख राजनीतिज्ञ, साहित्यकार, बिशिष्ट व्यक्ति, राजदुतसम्मले अध्ययन गर्ने पुस्तकालय अहिले भने सुनसान छ । पुस्तकालयमा मानिसहरुको भिड थामिनसक्नु हुन्थ्यो । यतिसम्मकी महिनाभरी न्यूनतम शुल्क तिरेर अध्ययन गर्नेहरुको ताँती नै लाग्थ्यो । ‘२०२२ सालमा पाल्पाबाट यहाँ आउदा महाविर पुस्तकालयमा पच्चिस पैसा महिनावारी शुल्क तिरेर पढ्न जान्थेँ’ लेखक समेत रहेका शाक्यले भने  । 

शाक्यले जस्तै पछिसम्म पनि न्यूनतम शुल्क तिरेर पुस्तकालय जानेहरु अरु पनि थिए । तर, पछिल्लो १५ बर्षयता न्यूनतम शुल्क तिरेर पुस्तकालय जाने पाठक पाउनु त कता हो कता । पुस्तकालयमा कोही आउँदा पनि अचम्म मान्नुपर्ने अवस्था छ । ‘पुस्तकालय बुटवलको इतिहास हो, हामीले संरचना सुरक्षित राखेका छौं’ पुस्तकालयकाका सदस्य सचिव बाबुराम पौडेले भने । उनका अनुसार पुस्तकालयमा ८ हजार ५ सय पुस्तकहरु छन् । ‘अध्ययन अुनसन्धान गर्ने पाठकहरु मात्रै आउँछन्, नियमित रुपमा अध्ययन गर्ने पाठक यहाँ आउँदैनन’ उनले भने । पुस्तकालयमा धर्मसंस्कृती, इतिहास, राजनीति, दर्शन, साहित्य, विभिन्न भाषाभाषीका पुस्तकहरु छन् ।


पुस्तकालय आफ्नै भवनमा छ । चार वटा भवन छन् । पुस्तकालय सञ्चालनको नियमित आम्दानी छैन । भएका भवनहरुलाई २०५२ सालदेखि महाविर अंग्रेजी स्कूललाई भाडामा दिईएको छ । अहिले पुस्तकालय विद्यालयका कारणले मात्रै खुल्ला हुन्छ । साँझको समयमा २ घन्टा खुल्ला हुने भनिएपनि नियमित खुल्दैन । पाठक नै नआएकाले पुस्तकालय नखोलिएको सदस्य सचिव पौडेलले बताए ।


प्रविधिमा आएको परिवर्तन र पठन संस्कृती हराउँदै जादा पुस्तकालय पनि खण्डहर बन्ने जोखिम बढेको छ । ऐतिहासिक पुस्तकालय जोगाएको वर्तमान समितिले किताब संरक्षणको काम गर्दै आएको पौडेलले बताए । अहिले प्रदेश सरकारको सहयोगमा पुस्तकालयमा नयाँ दराज ल्याइएको छ । यसले किताबलाई सुरक्षित रुपमा राख्न सकिने समितिको विश्वास छ । बुटवल उपमहानगरले पनि पुस्तकालयलाई बार्षिक सहयोग गर्दै आइरहेको उनले बताए । तर, आधुनिक युग अनुसार इ–लाईब्रेरीका रुपमा विका गर्ने गरी योजना बन्न सकेको छैन ।


पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल लायन्स आखाँ अस्पतालबाट करिव २ सय मिटर उत्तरमा पुस्तकालय छ ।  २००७ सालको प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको पुस्तकालयलाई नगर पुस्तकालयका रुपमा विकास गर्नुपर्ने पूर्वअध्यक्ष शाक्यको सुझाव छ । उनले महाविर पुस्तकालयलाई बुटवल उपमहानगरले नै नगर पुस्तकालयका रुपमा रुपान्तरण गर्नुपर्नेमा जोड दिन्छन् । सार्वजनिक पुस्तकालयको महत्वलाई बुझाउन सक्ने हो भने नयाँ पुस्ता पनि पठन संस्कृतीमा जोडिने उनको विश्वास छ ।

पटक–पटक उतारचढाव  


राणाशासनको अन्त्यअघि स्थापना भएको महाविर पुस्तकालय एउटा आन्दोलन थियो । चेतना ज्ञान र शिक्षाका लागि पुस्तकालयमा किताब मात्रै थिएनन, विद्रोहका चेतना जागृत गर्ने स्थल पनि थियो । स्थापना भएको २ बर्षमा संस्थापकहरुमध्ये २ जनालाई तत्तकालिन सरकारले नजरबन्दमा राखेपछि एक बर्ष पुस्तकालय बन्द नै भएको देवेन्द्रराज शाक्यद्धारा लिखित लेखमा उल्लेख छ । २००८ साल कार्तिक १ गते तत्तकालिन बनस्पती अड्डा खारेजभएपछि हाल रहेको स्थानमा पुस्तकालय सञ्चालनका लागि अनमुती प्राप्त भएको थियो । २०१० सालदेखि पुस्तकालय नियमित सञ्चालन भएको र पछि २०४४ सालमा पौष महिनादेखि पुन ६ बर्ष बन्द भयो ।


ऐतिहासिक पुस्तकालयलाई पुन सञ्चालनका लागि स्व. सूर्यप्रसाद प्रधानको सहयोग र अन्य व्यक्तिहरुको समेत सहयोगमा २०५० साल भदौ २६ गतेबाट सञ्चालनमा आएको हो । त्यसयता पुस्तकालय निरन्तर सञ्चालन भइरहेको छ । तर, पछिल्ला वर्षमा पाठक नै नपाएपछि फेरी बन्द हुने त होईन भन्ने अवस्थामा पुगेको छ । विस २००४ सालमा  हिक्कमत प्रसाद श्रेष्ठ, ओमशंकर श्रेष्ठ, स्व. टोपबहादुर श्रेष्ठ, स्व. जोगलाल बजिमय, स्व. सत्यलाल श्रेष्ठ संस्थापक भएर पुस्तकालय स्थापना गरेका हुन । 

रातको समयमा माईन्यूट गरेर पुस्तकालय खोलेका थिए । पुस्तकालयको संरक्षकमा स्व. शक्तिप्रसाद श्रेष्ठ, स्व. हरिबहादुर सिंह, स्व. लालप्रसाद श्रेष्ठ, स्व. गणेशमान सैजु, केशवराज मास्के, रामबहादुर बजिमय, सूर्यप्रसाद प्रधान, जगतकृष्ण श्रेष्ठ, द्रोणराज जोशी, परिक्षित प्रसाद लाकौल र जंगप्रसाल अमात्य छन् । अमात्य जग्गादाता हुन् । पुस्तकालयको हिक्मत प्रसाद श्रेष्ठ, सत्यलाल श्रेष्ठ, बाबुलाल श्रेष्ठ, कुसुम कुमारी लाकौल, महेश्वर प्रसाद लाकौल, ओमशंकर श्रेष्ठ, महेन्द्र प्रसाद श्रेष्ठ, देवेन्द्रबहादुर श्रेष्ठ, देवेन्द्रराज शाक्य पूर्वअध्यक्षका रुपमा काम गरेका छन् । अहिले महेन्द्रकुमार राजभण्डारी अध्यक्ष छन् ।
 

 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update