
बुटवल – आर्यन बर्मा सिद्धार्थनगर नगरपालीका वडा न. १ मा बस्छन् । उनी १० बर्षका भए । चैत महिनाको अन्तिम साता बार्षिक परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका बर्मा साथीहरु संग खेल्नु, घरवरपर डुल्नु दैनिकी जस्तै बनेको थियो ।
एक दिन बेलुकापख साथीहरुसँग आफ्नै घर अगाडिको सडकमा खेलिराखेको अवस्थामा एक हुल सामुदायिक कुकुरहरु तछाड मछाड गर्दै आए । बर्मा अत्तालिए अनि दौडिन लागे । कुकुरहरु भुक्दै उनलाई पच्छ्याउँदै गए । अन्तिममा एउटा कुकुरले उनलाई भेट्टायो र लडायो । कुकुरले उनको खुट्टामा टोक्यो । त्यति नै बेला अन्य छिमेकीले उनलाई देखे र उद्धार गरे ।
सिद्धार्थनगर – ८ कै २१ बर्षिय रियान रेश्मी मगर पनि बाटोमा हिड्दै गर्दा सामुदायिक कुकुरहरुको आक्रमणमा परेँ । घर अगाडिकै चोकबाट घरायसी सामान किनेर फर्किदै गर्दा उनलाई सामुदायिक कुकुरहरुले झम्टीएका हुन् । कुकुरहरुबाट बच्नका लागि जति नै प्रयास गरे पनि उम्कन नसकेको रेश्मीले बताए ।
उनी भन्छन्–‘पसलमा दुध किन्न गएको थिए । फर्किदा एक हुल कुकुरहरु देखे । उनीहरुसँग तर्किएर हिड्ने प्रयास गरेपनि एउटा कुकुर आयो। हातको व्याग तान्यो, अर्काेले टोक्यो । अहिले रेबिज बिरुद्धको खोप लगाउन अस्पताल धाइरहेको छु।’
त्यसो त सिद्धार्थनगर– ६ की ४८ बर्षिय राधिका पाण्डेलाई पनि केहि हप्ता अगाडि कुकरले टोक्यो । उनी पनि आफ्नै घर अगाडिको गल्लिमा हिड्दै गर्दा सामुदायिक कुकुरहरुको शिकार बन्नु पर्याे । बर्मा, रेश्मी र पाण्डे त एक उदारहणीय पात्र मात्र हुन् । पछिल्लो समय सिद्धार्थनगर नगरपालीमा सामुदायिक कुकुरहरुको विगविगी छ । मान्छेहरु स्वतन्त्र र ढुक्क भएर सडकमा हिड्न सक्दैनन ।
भिम अस्पताल भैरहवाका सुचना अधिकारी डा.आसिफ हुसेनका अनुसार गत चैत्र महिना मात्रै ४ सय ३३ जना कुकुरको टोकाईबाट रेबिज बिरुद्धको खोप लगाउन पुगेको बताए ।सिद्धार्थनगर रुपन्देही जिल्लाको सदरमुकाम पनि हो । धेरै सरकारी कार्यालयहरु भैरहवा क्षेत्रमा पर्ने भएकाले पनि मानिसहरुको दैनिक बाक्लो चहलपहल हुने गर्छ ।
त्यति मात्र होईन नेपाल भारत स्थल मार्ग अन्र्तगत बेलहिया नाका हुदै दैनिक सयाै पर्यटकहरु आवातजावत गर्ने एकमात्र सिमा पनि हो भने गौतम बुद्ध अन्तराष्टिय विमानस्थल यही क्षेत्रमा पर्ने भएकाले पनि निकै संवेदनशिल क्षेत्र पनि हो । त्यसैले सामुदायिक कुकुरहरुका कारण स्थानियहरु मात्र होईन, छिमेकी पालीकाका व्यक्ति तथा हवाई र स्थल मार्ग हुदै नेपाल घुक्न आउने पर्यटकका लागि यो टाउको दुखाईको बिषय बनेको छ भने स्थानीय सरकारलाई सामुदायिक कुकुर तथा छाडा चौपाया व्यबस्थापनमा सकस परिरहेको छ ।
स्थानियको गुनासो सम्बोधन गर्नका लागि सिद्धार्थनगरले सामुदायिक कुकुरहरुलाई व्यवस्थापन गर्न विगत तीन बर्षदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सिद्धार्थनगर नगरपालिकाका कृषि तथा पशु विकास शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले समुदायमा रहेका छाडा कुकुरको टोकाइबाट लाग्ने रेबिज रोगबाट नगरबासीलाई बचाउने र छाडा कुकुर नियन्त्रण गर्ने उद्देश्यले सामुदायिक (छाडा) कुकुरहरुको बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन कार्यक्रम गरिरहेको बताए ।
त्यस्तै , सिद्धार्थनगर नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले छाडा कुकुरलाई नियन्त्रणमा लिई लठ्याएर बन्ध्याकरण गरिनुको साथै एक वर्षसम्मका लागि हुने गरी रेबिजको भ्याक्सिन (खोप) लगाइदिए पछि कुुकुरलाई यथास्थानमै छाडिदिने गरिएको बताए ।
बन्ध्याकरण गरिएको र एक वर्षका लागि रेबिज भ्याक्सिन लगाइएको जानकारीका लागि कुकुरको देब्रे कानमा यु आकारले चिरेर संकेत दिने गरिएको उनको भनाई छ । थापा भन्छन् –‘संख्यामा वृद्धि नहुने गरी सबै कुकुर व्यवस्थापन गर्ने हाम्रो उद्देश्य हो, बेलाबेलामा शिविर सञ्चालन गरेर बन्ध्याकरण गरेमा संख्या वृद्धि हुँदैन । खोप पनि लगाइने भएकाले रेबिजको जोखिम पनि कम हुन्छ ।’
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँनले सामुदायिक कुकुरहरुको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरहरुको बन्ध्याकरणका लागि पटक पटक शिविरहरु सञ्चालन गरेको बताए ।
नगर प्रमुख खाँनले सामुदायिक कुकरको बन्ध्याकरण र रेबिज भ्याक्सिनेसन कार्यक्रम बार्षिक योजना तथा बजेट मार्फत विगत ३ वर्षदेखि विभिन्न संस्थाहरुसंगको सहकार्यमा विज्ञसहितको टोलीले नगरको टोल–टोलमा पुगेर कुकुरहरुलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरण लगायत उपचार गरेपश्चात नियन्त्रण लिइएको स्थानमै छाड्ने गरेको बताए।
उनी भन्छन्–‘नेपाल भारत खुल्ला सीमाना भएकोले भारतका साथै छिमेकी अन्य पालिकाबाट पनि सामुदायिक कुकुरहरु तथा गाइबस्तु आउने गरेको कारण समस्या न्युनिकरण र व्यबस्थापनमा भइरहेको छ । तर पनि आफुहरुले चलाएको अभियानले सामुदायिक कुकुरहरुको संख्यामा कमी र रेबिजको प्रकोप न्यूनिकरण हुनेमा विश्वास छ ।’
नगरमा छाडा कुकुरको बन्ध्याकरण र रेबिज भ्याक्सिन कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तर सञ्चालन गरिएकाले बजारमा छाडा कुकुर धेरै कम हुँदै गएको उनको दावी छ । आफ्ना टोल छिमेकमा बन्ध्याकरण नगरिएका कुकुर भएमा नगरपालिकालाई खबर गरी बन्ध्याकरण अभियानलाई सफल बनाउन समेत नगरवासीलाई आग्रह समेत गरे । सन् २०३० सम्ममा बिश्वबाट रेविज उन्मुलन गर्ने अभियान संचालन छ । पशु कल्याण निर्देशिका २०७३ ले कुनै पनि कुकुर मार्न नपाइने व्यवस्था गरेको छ ।
के हो रेबिज, कसरी सर्छ
सुरुमा जनावरको र्यालमा रहेका भाइरस जनावारको टोकाइबाट घाउँमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हँुदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्दछ ।
गिदीमा सङ्क्रमण भएपछि मात्र विशेष लक्षणहरू देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस र्याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्दछ । यस्ता सङ्क्रमित जनावारले टोक्दा र्याल ग्रन्थिमा भएको भाइरस फेरि अर्काे जनावारको शरीरमा प्रवेश गर्छ । रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो ।
रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।
रेबिजका लक्षणहरु
रेबिज रोग जनावर र मानिसमा फरक–फरक लक्षणहरु देखा पर्दछन् । यदि कुनै मानिसलाई कुकुर बिरालो लगायतले टोक्यो भने सम्बन्धित व्यक्तिमा रेबिजका विभिन्न किसिमका लक्षणहरु देखा पर्ने गर्छन् । जस्तै : ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ ।
त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्या पनि देखिन्छ ।
रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ । यसबाट अरू मानिसमा पनि सर्न सक्छ । रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ । रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ । रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुन सक्छ ।
रेबिजको उपचार विधि
- सबै भन्दा पहिला घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउने, भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्ने।
- कुकुर, स्याल, चमेरो, बिरालो लगायतका जनावरहरुको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने।
- रेबिजको भाइरस हुने सम्भावित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गर्ने।
- जतिसक्दो चाँडो अस्पताल पुर्याई रेबिजविरुद्धको खोप लगाउनु उपयुक्त हुन्छ । कुकुरले टोकेपछि छिटो भ्याक्सिन लगाउँदा भाइरस धेरै फैलिन पाउँदैन।
- कुकुरले टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्ने ।
रोकथामका उपायहरु
घरपालुवा जनावरहरूलाई नियमित रूपमा अनिवार्य खोप लगाउनु पर्छ । आफ्नो घरपालुवा जनावरलाई जंगली वा जङ्गल क्षेत्रमा कहिल्यै छोड्न हुँदैन ।
रेविजको रोगको कुनै उपचार नभएकाले रोगको लक्षण देखा परेपछि जनावर वा मानिसको मृत्यु हुने गरेको विभिन्न तथ्यांकहरुले देखाएको छ।
यसबाट बच्ने एउटै उपाय भनेको जनावर (मानसिक सन्तुलन गुमेको) ले टोकेपछि पूर्ण खोप लगाउनु नै रेविजबाट बच्ने उपाय रहेको चिकित्सकहरुको भनाई छ । - खस्याैली साप्ताहिकबाट