
बुटवल- युवा अर्थशास्त्री एवम् अर्थराजनीतिक विश्लेषक मनिकर कार्कीद्वारा लिखित पुस्तक ‘अर्थदृष्टिः अल्पविकासको अर्थराजनीति’ को दोस्रो संस्करण बजारमा आएको छ । नेपालको आर्थिक इतिहास एवम् समसामयिक अर्थराजनीतिसम्बन्धी सो पुस्तक प्रकाशक इन्डिगो इन्कले प्रकाशन गरेको हो ।
प्रकाशकका तर्फबाट इन्डिगो इन्कका कार्यकारी निर्देशक विष्णुकुमार पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै कार्कीको अर्थदृष्टिको यसै वर्षको जेठमहिनामा प्रथम संस्करण प्रकाशित भएकोमा, छोटो अवधिमा नै दोस्रो संस्करण प्रकाशन गर्न पाउँदा निकै हर्षको अनुभूति भएको जनाएका छन् ।
‘अर्थशास्त्र जस्तो प्राविधिक विधाको पुस्तक पनि बजारमा यति छोटो अवधिमै सकिँदा समसामयिक अर्थराजनीतिमाथि सबैको चासो र रुचि बढ्दै गएको तथ्यलाई इंगित गरेकोछ’ इन्डिगो इन्कद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय विकसित भएको मुलुकको राजनीतिक घटनाक्रमले पनि अर्थराजनीतिसम्बन्धी पुस्तक अध्ययनको आवश्यकता र औचित्यता थप पुष्टि गरिदिएको छ ।’
अर्थदृष्टिको दोस्रो संस्करणमा अर्थशास्त्रीय तथ्याङ्कहरु अध्यावधिक गरिनुका साथै समय र सन्दर्भ अनुसारका केही तथ्य र विश्लेषण थप गरिएको छ ।
पुस्तकले नेपालको आर्थिक इतिहासको पुनरावृत्ति गर्दै नेपाली समाज र अर्थतन्त्रको ऐतिहासिक चरित्र उजागर गरेको छ भने अर्थतन्त्रको वर्तमान अवस्था र जटिलतालाई प्रकाश पार्दै मुलुकको अल्पविकासका कारणहरु खोतल्ने प्रयत्न गरेको छ।
त्यसैगरी विश्व–अर्थराजनीतिमा देखापरेको पुँजीवादी संकटको अवस्थाको विस्तृत विवेचनासहित अहिलेको अल्पविकास, बेरोजगारी, न्यून उत्पादन र अधिक उपभोगको दुष्चक्रममा फस्दै गएको नेपाली अर्थतन्त्रलाई अगाडि बढाउन आवश्यक वैकल्पिक अर्थतन्त्रको आवश्यकतामाथि विशेष चर्चा गरिएको छ । दोस्रो संस्करणको मूल्य रु. ७९९ रहेको छ ।