Lumbini Rise
जेनजीको रगतमाथि बसेर शासन गर्ने अधिकार छैन 

जेनजीहरुले आवाज उठाए । असन्तोष पोखेँ । मनका पिडाहरू व्यक्त गर्न सडक ओर्लिए । उनीहरूमा छटपटी, असन्तोषहरू त्यसै आएको होइन । सरकारले आशा देखाउन सकेन, रोजगारी दिन सकेन । सबैभन्दा ठुलो कुरा त ती जेनजीहरुले चाहेको जस्तो परिवर्तन आउनै सकेन । बरु, उही थोत्रा कुरा, उही पुराना (डेटएक्पायर) मूल्यमान्यताको रटान लगाइरह्यो सरकार ।  

हो, यही कुरा त गरेका थिए, जेनजीहरुले । स्कुल, कलेज ड्रेसमा आएका ती अबोध युवाहरूमाथि सरकारले बर्बरतापूर्वक गोली हानेको दृश्यले साँच्चिकै ठुलो पिडा दिएको छ । जेनजीहरुले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र मुलुकमा व्याप्त कुशासन र भ्रष्टाचारको विरोध गरेका थिए । यो विरोधको आवाज सरकार अभिभावक भएकाले सुन्नै पर्छ, तर यी आवाजमाथि गोली बर्साएर निस्तेज पार्ने असफल कुचेष्टा गरेको छ । जुन निन्दनीय मात्रै छैन, न्यूनतम मानवअधिकार र लोकतान्त्रिक मुलुककै खिल्ली उडाउने खालको छ । 

राणा शासनका विरुद्धको आन्दोलनमा ४ जना युवाको हत्या भएको थियो, यसका पछाडि राणाहरूको निरकुंशताको पाटो फरक होला ।  पञ्चायत ढल्दा पनि सरकार आततायी भएन, राजतन्त्र विरुद्धको आन्दोलनमा १९ दिनसम्म चल्यो । त्यति लामो आन्दोलनमा २१ जनाले ज्यान गुमाएका थिए, तर एकै दिन त्यो पनि निर्दोष निहत्था १९ जेनजी (युवाहरू) को गणतान्त्रिक सरकारले हत्या गरेको छ । जेनजीहरुको आन्दोलन पूर्व सूचना दिएरै भएको थियो, सरकारले सुरक्षा मजबुद किन बनाउन सकेन ?

यसबारे सरकारको चिन्ता देखिँदैन । अझ जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको जवाफ दिइरहेको छ । घुसपैठ हुनसक्छ, यसबारे सरकार सचेत हुनुपर्दैन ? राज्य संयन्त्रले सुरक्षाको तयारी गर्नुपर्दैन ? हामीले ल्याएको गणतन्त्र निरकुंशताका लागि होइन, जनताको शासन स्थापित गर्नका लागि हो । हामीले ल्याएको गणतन्त्रले यसरी एकै दिन निर्दोष युवाहरूलाई ताकी ताकी गोली ठोकेर हत्या गर्दैन । अबोध युवाहरूमाथि गोली चलाएर शासन लब्याउन खोज्नु नै निरंकुशताको नमुना हो ।

प्रधानमन्त्री ज्यू यी छोराछोरीमाथि चलाएको गोलीले तपाईँलाई रत्तीभर छोएन ? के प्रधानमन्त्री ओली ज्यू युवाहरूको रगतको आहालमा  सरकार चलाइरहने हो ? यदि यो सरकारमा नैतिकता छ भने एक मिनेट पनि सरकारमा बस्नै अधिकार छैन । टाउको र छातीमा ताकी ताकी गोली ठोकिएको छ । गृहमन्त्रीको राजीनामाले मात्रै पुग्दैन ।

प्रधानमन्त्री ओली र सत्ताका साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यो आततायी घटनाका प्रमुख दोषी हुन् । यी दुवैले जिम्मा लिनुपर्छ । हामी फेरी भन्छौँ रगतको आहालमा बसेर शासन कुन नैतिकताले गर्नुहुन्छ ?  करिब ४ सय घाइते भएका छन् । मृतक युवाप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update