
भदौ २३ र २४ यी दुई दिन नेपाली समाजको मानसपटलमा गहिरो तरङ्ग छोडेर गएका छन्। जेनजी पुस्ताले सुरु गरेको आन्दोलन, जुन प्रारम्भमा भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित उठेको थियो, अन्ततः पुरानो सत्तालाई ढाल्दै अन्तरिम सरकारको गठनसम्म पुग्यो। यो केवल आन्दोलन मात्र थिएन—यो त परिवर्तनको नबिन स्वर थियो।
नेपालको इतिहास हेर्दा जनताले पटक–पटक ठूलो मूल्य चुकाएर परिवर्तन ल्याएका छन्। तर विडम्बना के छ भने, ती परिवर्तनहरू संस्थागत बन्न सकेनन्, न त मानवीय सभ्यता अझ मजबुत।
परिवर्तनको संघर्ष विकासका लागि अपरिहार्य हुन्छ। तर यदि त्यही संघर्षमा हामी सामाजिक र पारिवारिक सम्बन्धलाई आधुनिक प्रविधिको जेलभित्र थुन्दै गयौ भने त्यो अधुरो परिवर्तन मात्र हुनेछ। व्यवस्थालाई बदल्नु पर्याप्त छैन- अवस्थालाई बदल्न हामी सबै व्यक्तिगत रूपमा पनि सचेत हुन जरुरी छ।
शहरका अपार्टमेन्टहरूमा मौनता छाउने र टोलका गफहरू हराउने क्रमसँगै हाम्रो सामुदायिक आत्मामा क्षति हुँदै गएको छ। यही पृष्ठभूमिमा आजको शृङ्खलालाई टोलका गफदेखि अपार्टमेन्टका मौनतासम्म: शहरमा हराएको गाउँसङ्ग जोडने प्रयास गरिएको छ।
गाउँको आत्मा, शहरको खालीपन
“शहरमा हराएको गाउँ” भन्नुको अर्थ भौतिक गाउँ हराउनु होइन। हराएको छ त गाउँको मन- त्यो आत्मा जसले मानिसलाई मानिससँग जोड्थ्यो।
गाउँमा जीवन खुला किताब जस्तै हुन्थ्यो। पुरै गाउँ एकजुट हुन्थ्यो। पहिला-पहिला मृत्यु भएको मानिसको मलामी जादा गाउँका सबैले साथ दिन्थे, दाह–संस्कार सकिएपछि मात्र फर्किन्थे। जन्ती जानुपर्यो भने घरमै पुगेर बेहुलासँगै निस्किन्थ्यो।
तर अहिले? घाटमा उपस्थित हुनु नै ठूलो मानिन्छ, र जन्तीमा सामेल हुनु परे पनि धेरैजना बाटोबाटै मिसिने चलन बढेको छ। कामको चाप बढेको हो कि समय व्यवस्थापनको कला नभएको हो? यसबारे सोच्नै पर्ने हुन्छ।
गाउँमा घर-घरको जानकारी, छिमेकीसँगको सम्बन्ध, सुख-दुःखमा एकअर्काको साथ-यी सबै “गाउँको आत्मा” थिए। तर शहरमा जीवन बन्द डायरी जस्तो छ। एउटै अपार्टमेन्टमा वर्षौँ बस्ने मानिसहरू एकअर्काको नामसम्म नजान्न सक्छन्। अनलाइनमा हजारौँ ‘भर्चुअल’ साथी छन्, तर छेउमै दुःख परेको बेला ढोका ढकढक्याउने मान्छे छैन।
टोलका गफ : हराउँदै गएको न्यानोपन
गाउँमा बेलुकी चौतारी, चियापसल वा चोकमा हुने गफ- गफको रौनक छुट्टै हुन्थ्यो। राजनीति, समाजदेखि व्यक्तिगत पीर-मर्का खुला दिलले सुनिन्थे। दिनभरिको थकान त्यहीँ हराउँथ्यो। तर शहरमा यो संस्कृति हराइसकेको छ। बेलुका अपार्टमेन्टको ढोका बन्द हुन्छ, र हामी हाम्रो ‘डिजिटल संसार’ मा हराउँछौँ। लिफ्टमा भेट हुँदा हल्का मुस्कानसम्म सीमित हुन्छ संवाद। टोलका गफको स्थान सामाजिक सञ्जालका ‘च्याट’ ले त लिएको छ, तर त्यसमा गाउँको न्यानोपन छैन।
कसरी फर्काउने अपार्टमेन्टमा टोलको स्वाद?
गाउँ फर्काउन सम्भव छैन, तर गाउँको आत्मा शहरमै जीवित राख्न सकिन्छ। केही व्यावहारिक कदमले अपार्टमेन्टको मौनतालाई चिरेर न्यानोपन फर्काउन सक्छः
पहल आफैंबाट सुरु गरौँ: बाटोमा वा लिफ्टमा भेट्दा साधारण नमस्कार भन्दा अघि बढेर हालखबर सोधौँ। सानो बोलचालले नै ठूलो सम्बन्धको बीउ रोप्न सक्छ।
एक अर्काको अस्तित्व स्वीकार गर्ने: छिमेकी वा अपार्टमेन्टका साथीहरूलाई केवल अनुहारको रुपमा होइन, अस्तित्व भएको मानवको रुपमा हेर्न सिकौँ। उनीहरूको दु:खसुख र सानो सफलतामा आनन्द लिन सक्नु पर्दछ।
समुदायसँग जोडिऔं: चाडपर्व, भेलाभेला वा सरसफाइ अभियानमा सक्रिय सहभागिता जनाऔं। कार्यक्रम नभए आफैंले ‘चिया-गफ’ वा ‘छरछिमेक भेटघाट’ कार्यक्रम आयोजना गर्न सकिन्छ।
सहानुभूति र सहयोग: कुनै छिमेकीलाई सहयोगको आवश्यकता छ भने आफ्नो सानो योगदान दिन सकिने तरिका खोजौँ। समय दिने र हेरचाह स-सानो भए पनि यसले भावनात्मक न्यानोपन बढाउँछ।
समय दिन सिकौँ: मोबाइल वा टिभीमा घण्टौँ खर्च गर्नुको सट्टा परिवार र छिमेकीसँग प्रत्यक्ष भेटघाट, कुराकानी गर्ने र घुम्न जाने बानी बसालौँ।
साझा गतिविधि: बालबालिकाको खेलकुद, सरसफाइ अभियान वा सांस्कृतिक कार्यक्रममा सहभागी बनौँ। यसले सबैलाई एकसाथ ल्याउँछ र नयाँ सम्बन्ध निर्माणमा सहयोग गर्छ।
शहरलाई हामीले आधुनिक, सुविधासम्पन्न र ‘स्मार्ट’ बनाउँदैछौँ। तर स्मार्ट शहर बनाउने हतारमा के हामीले “स्मार्ट सम्बन्ध” बनाउन सकिरहेका छौँ?
गाउँ टाढा हुन सक्छ, तर गाउँको आत्मा टाढा हुनुपर्दैन। हाम्रो मुस्कान, हाम्रो सानो पहल र हाम्रो बोलचालले शहरमा मानवीयताको फुल जोगाउन सकिन्छ । आखिर, सुख–दुःख बाँड्ने मान्छे बिना आधुनिकताको अर्थ के रहन्छ र?
*लेखक अर्याल पेशागत रूपमा संचारकर्मी तथा अनुभवी भाषणकला प्रशिक्षक हुनुहुन्छ । हामी सँगै भाग १५ औं अंकमा अर्काे साता 'जेनजी: डिजिटल युगको पुस्ता र समाजमा यसको प्रभाव' प्रकाशन हुने छ।
[email protected]
र याे पनि पढाैं:
हामीसँगै भाग १३: डिजिटल डिटक्स: वाईफाई अफ, जिन्दगी अन
हामीसँगै भाग १२: समय व्यवस्थापन: सफल जीवनको कुञ्जी
हामीसँगै भाग ११: सकारात्मक सोचको शक्ति: अँध्यारोमा उज्यालोको किरण
हामीसँगै भाग १० : सामाजिक एकता र सहकार्य: समृद्ध जीवनको आधार
हामीसँगै भाग ९ : आर्थिक आत्मनिर्भरता र नेपाली परिवार
हामीसँगै भाग ८: पुस्तान्तर समझदारी: युवा र पुरानो पुस्ताबीचको सेतु
हामीसँगै भाग ७: संयुक्त परिवारमा खुसी : चुनौतीहरू र समाधानहरू
हामीसँगै भाग ६: सम्बन्धमा विष घोल्ने प्रवृत्ति : कसरी चिन्ने र कसरी जोगिने?
हामीसँगै भाग ५ : सेल्फ-केयर : आजको सबैभन्दा क्रान्तिकारी अभ्यास
हामीसँगै भाग ४ : सम्बन्धमा सीमा निर्धारण (Boundary Setting) को महत्त्व
हामीसँगै भाग ३ : बाहिरी दबाब र सम्बन्ध : मानसिक स्वास्थ्यका आयामहरू
हामीसँगै भाग २ : पुरुषको मौनता: असहयोगका अदृश्य कारणहरू?
हामीसँगै भाग १: असहयोगी श्रीमान : मौनताको मूल्य र सम्बन्ध विच्छेदको जोखिम