
के तपाईंलाई याद छ — बिहानै उठ्ने बित्तिकै हजुरआमाको मन छुने आशीर्वाद, चियाको चुस्किसँगै सुनिने हजुरबुवाको हाँसो, र भान्सामा आमा–काकीको हँसिलो झगडा? एकै छानामुनि तीन पिँढी एउटै भान्सामा रमाउने त्यो संयुक्त परिवार — आज कहाँ हराउँदै गइरहेको छ?
समाज बदलिँदै छ, गति बढिरहेको छ। सहरको आकर्षण, शिक्षा, रोजगारी र आधुनिक जीवनशैलीको खोजीले संयुक्त परिवारको संरचना साँघुरिँदै गएको छ। हिजोसम्म जहाँ हामी "हामी" थियौँ, आज त्यहाँ "म" मात्रै बाँकी छ।
बालबालिकाले हजुरबुवा-हजुरआमाको न्यानो माया र ज्ञानबाट वञ्चित हुनुपर्छ, जसले उनीहरूको संस्कार र नैतिकताको विकासमा कमी ल्याउन सक्छ। अभिभावक दुवै कामकाजी हुँदा बालबालिकाको हेरचाहमा समस्या आउन सक्छ र उनीहरूले एक्लैपन महसुस गर्न सक्छन्।
-1752290874.jpeg)
वृद्धावस्थामा पुगेका अभिभावकहरूले एक्लोपन र असुरक्षा महसुस गर्न सक्छन्, किनकि उनीहरूलाई हेरचाह गर्ने कोही हुँदैन। चाडपर्व र सामाजिक जमघटहरूमा पनि रौनक हराउँदै जान्छ, जसले सामाजिक सम्बन्धहरूलाई कमजोर बनाउँछ।
जब हामी सुविधाको नाममा सम्बन्धको मूल्य चुकाइरहेका छौं, त्यही बेला फेरि प्रश्न उठ्छ - के संयुक्त परिवार पुरानो सोच हो, कि अझै सान्दर्भिक आवश्यकता ?
संयुक्त परिवारका फाइदाहरू
संस्कृति र परम्पराको संरक्षण : संयुक्त परिवारमा परम्परा, चाडपर्व र नैतिक मूल्यहरू एक पुस्ताबाट अर्को पुस्तामा सजिलै सर्ने गर्छन्।
बालबालिकाको हेरचाह र विकास : हजुरबुवा-हजुरआमा र अन्य सदस्यहरूको माया र स्याहारले बालबालिकालाई राम्रोसँग हुर्कन मद्दत गर्छ। उनीहरूले सामाजिक व्यवहार र जिम्मेवारी बिस्तारै सिक्न थाल्छन्।
आर्थिक सुरक्षा : ठूलो परिवारमा खर्च र दायित्व सबैले बाँड्ने भएकाले आर्थिक भार कम हुन्छ। आकस्मिक परिस्थितिमा पनि सहयोग गर्न सजिलो हुन्छ।
एकलोपनको अन्त्य : वृद्धवृद्धा र एक्ला व्यक्तिहरूले परिवारको साथ पाउँछन्। उनीहरूलाई एक्लो महसुस हुँदैन र भावनात्मक समर्थन मिल्छ।
संयुक्त परिवारका चुनौतीहरू
निर्णय गर्न गाह्रो हुनु : सदस्यहरूको सोच र प्राथमिकता फरक हुँदा कुनै निर्णयमा पुग्न कठिनाइ हुन्छ।
व्यक्तिगत गोपनीयताको कमी : धेरै सदस्य एउटै ठाउँमा बस्दा व्यक्तिगत स्वतन्त्रताको कमी महसुस हुन सक्छ।
आर्थिक हिसाबकिताबमा मनमुटाव : आम्दानी र खर्चमा स्पष्टता नभएमा वा खर्च असमान भएमा घरभित्र झगडा हुन सक्छ।
जिम्मेवारी बराबर नहुनु : घरको काम वा हेरचाहजस्ता जिम्मेवारी सबैमा राम्रोसँग नबाँडिँदा असन्तुष्टि बढ्न सक्छ।
पुराना र नयाँ सोचबीच मतभेद : पुरानो पुस्ताको सोच र नयाँ पुस्ताको विचार नमिल्दा विवाद आउन सक्छ।
सञ्चारको अभाव : एकअर्कासँग खुलेर कुरा नगर्दा वा गलत बुझाइ हुँदा समस्या झन गहिरो हुन सक्छ।

चुनौतीहरूको समाधान
खुला संवादको अभ्यास : घरभित्र सबैले खुलेर बोल्न पाउने वातावरण बनाउनु पर्छ। जसले जे सोच्दछ, त्यो भन्न सक्ने स्थिति हुनु आवश्यक छ।
पारस्परिक सम्मान : सबै सदस्यले एकअर्काको भावना, विचार र स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ। सानातिना कुरामा सहमति खोज्नुपर्छ।
जिम्मेवारी स्पष्ट गर्नु : घरको काम, आर्थिक व्यवहार र हेरचाह जस्ता जिम्मेवारी सबै सदस्यमा समान रूपमा बाँड्नुपर्छ, जसले गर्दा कसैलाई पनि बोझ नलागोस्।
गोपनीयताको कदर : प्रत्येक सदस्यको व्यक्तिगत ठाउँ र निर्णयको सम्मान गर्नुपर्छ। अनावश्यक कुरामा हस्तक्षेप गर्नु हुँदैन।
आर्थिक पारदर्शिता : घरको आम्दानी र खर्च सबैको जानकारीमा राख्नुपर्छ। योगदान र आवश्यकता अनुसार खर्च व्यवस्थापन गर्नुपर्छ।
लचकदार सोच राख्ने : नयाँ विचार स्वीकार गर्न र परिवर्तनलाई अपनाउन सबै लचिलो बन्नु पर्छ। पुराना पुस्ताले नयाँ पुस्ताको कुरा सुन्ने र नयाँले पुरानाबाट सिक्ने वातावरण बनाउनु जरुरी छ।
सामूहिक निर्णय लिनु : महत्वपूर्ण निर्णय गर्दा सबैको राय सुन्ने र सहमतिमा पुग्ने प्रक्रिया अपनाउनुपर्छ।
गुणस्तरीय समय बिताउने : परिवारका सदस्यहरूले सँगै खाने, घुम्ने वा चाडपर्व मनाउने जस्ता काम गरेर सम्बन्ध अझ बलियो बनाउन सकिन्छ।
संयुक्त परिवार एउटा सुन्दर बगैँचा हो, जहाँ हरेक सदस्य फूलझैँ फुल्छन। प्रश्न अब तपाईंमा छ — के तपाईं त्यो बगैँचाको भाग बन्न तयार हुनुहुन्छ ?
*लेखक अर्याल पेशागत रूपमा संचारकर्मी तथा अनुभवी भाषणकला प्रशिक्षक हुनुहुन्छ । हामी सँगै भाग ८ मा अर्काे साता 'पुस्तान्तर समझदारी: युवा र पुरानो पुस्ताबीचको सेतु' प्रकाशन हुने छ । Email [email protected]
र याे पनि पढनुहाेस्
हामीसँगै भाग ६ सम्बन्धमा विष घोल्ने प्रवृत्ति : कसरी चिन्ने र कसरी जोगिने?
हामीसँगै भाग ५ सेल्फ-केयर : आजको सबैभन्दा क्रान्तिकारी अभ्यास
हामीसँगै भाग ४ सम्बन्धमा सीमा निर्धारण (Boundary Setting) को महत्त्व
हामीसँगै भाग ३ बाहिरी दबाब र सम्बन्ध : मानसिक स्वास्थ्यका आयामहरू
हामीसँगै भाग २ पुरुषको मौनता: असहयोगका अदृश्य कारणहरू?
हामीसँगै भाग १ असहयोगी श्रीमान : मौनताको मूल्य र सम्बन्ध विच्छेदको जोखिम