
"जसले आफूलाई बिर्सन्छ, त्यसलाई संसारले पनि बिर्सन्छ। र जसले आफूलाई सम्हाल्छ, त्यसमा संसारमा रमाउने शक्ति हुन्छ।"
जीवनको पेचिलो यथार्थ यही हो – बाहिरी संसार तब मात्र सुन्दर लाग्छ, जब भित्रको संसार सन्तुलित हुन्छ। आजको समय, जहाँ व्यस्तता, अपेक्षा र डिजिटल कोलाहलले व्यक्तिलाई थकित तुल्याइरहेको छ, त्यहाँ आत्म–हेरचाह (Self-care) केवल एक विकल्प होइन, अस्तित्वकै आधार बन्दै गएको छ।
सेल्फ-केयर भन्नेबित्तिकै कतिपयको मनमा "अरूबाट टाढा हुनु" वा "केवल आफूलाई हेर्नु" भन्ने सोच आउन सक्छ। तर साँचो सेल्फ-केयर भनेको अरूलाई नहेर्ने होइन, आफूलाई नबिर्सने अभ्यास हो। यो त्यस्तो चेतनशील प्रक्रिया हो जसले एक व्यक्तिलाई मानसिक, भावनात्मक, शारीरिक र सामाजिक रूपमा स्वस्थ बनाउँछ।
सेल्फ-केयरको प्रभाव: मनदेखि सम्बन्धसम्म
सेल्फ-केयरको अभ्यासले हाम्रो जीवनका विभिन्न पक्षमा गहिरो सकारात्मक प्रभाव पार्छ :
१. मानसिक सन्तुलन र तनाव व्यवस्थापन
सेल्फ-केयर अभ्यासले स्नायु प्रणालीलाई शान्त पार्छ, चिन्ता घटाउँछ र मस्तिष्कलाई स्पष्ट निर्णय गर्न सहयोग गर्छ। हार्वर्ड विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार, दैनिक १५ मिनेटको माइन्डफुलनेस अभ्यासले कोर्टिसोल (तनाव हर्मोन) को मात्रा घटाउनुका साथै मानसिक स्पष्टता बढाउँछ। नियमित विश्राम र ध्यानले तनावमा उल्लेखनीय गिरावट ल्याउने वैज्ञानिक रूपमा प्रमाणित भइसकेको छ।
२. भावनात्मक लचकता र स्थिरता
आफ्ना भावनालाई स्वीकृति दिने र त्यसलाई संयमपूर्वक व्यक्त गर्ने क्षमता विकास हुनाले व्यक्तित्वमा परिपक्वता देखिन्छ। यो भावनात्मक बुद्धिमत्ता मात्र होइन, जीवनको उतारचढावप्रति आत्मविश्वास पूर्वक उभिने आधार पनि हो।
३. आत्म-सम्मान र आत्म-मूल्यको पुनर्निर्माण
जब एक व्यक्तिले आफ्ना आवश्यकता र सीमाहरूलाई गम्भीरतापूर्वक लिन्छ, तब आत्मसम्मान पुनः जागृत हुन्छ। यो आन्तरिक अनुभूति बाह्य व्यवहारमा सकारात्मक परिवर्तनका रूपमा प्रकट हुन्छ।
४. सामाजिक सम्बन्धमा सुधार
जब व्यक्ति स्वयं सन्तुलित हुन्छ, ऊ अरूलाई सुन्न, बुझ्न र साथ दिन सक्षम हुन्छ। राम्रो आत्म-हेरचाहले राम्रो सम्बन्ध जन्माउँछ, किनकि तपाईं अरूका लागि अझ बढी उपलब्ध र दयालु बन्नुहुन्छ।
५. कार्यक्षमता र निर्णय क्षमतामा वृद्धि
प्रशस्त आराम र मानसिक स्पष्टताले निर्णय क्षमता परिष्कृत हुन्छ। यसले जटिल परिस्थितिमा समेत विवेकयुक्त र प्रभावकारी प्रतिक्रिया दिन सम्भव बनाउँछ, जसले कार्यक्षमतामा समेत वृद्धि ल्याउँछ।
- पर्याप्त निद्रा: शरीर र दिमागलाई आराम दिन दैनिक ७-८ घण्टा गुणस्तरीय निद्रा अनिवार्य छ। निद्राको अभावले शारीरिक र मानसिक स्वास्थ्य दुवैमा नकारात्मक असर गर्छ।
- नियमित शारीरिक गतिविधि: हिँड्ने, दौडने, योग गर्ने, पौडी खेल्ने, नाच्ने वा आफूलाई मन पर्ने कुनै पनि व्यायामले तनाव कम गर्छ, मुड सुधार्छ र समग्र शारीरिक स्वास्थ्यलाई टेवा पुर्याउँछ।
- नयाँ कुरा सिक्ने, किताब पढ्ने, वा रचनात्मक कार्यहरू (जस्तै: चित्रकला, संगीत, लेखन, पजल खेल्ने) मा संलग्न हुने।
- भावनाको अभिव्यक्ति: आफ्ना भावनाहरूलाई स्वस्थ तरिकाले व्यक्त गर्न सिक्ने (जस्तै: विश्वसनीय साथी वा थेरापिस्टसँग कुरा गर्ने, कलामार्फत व्यक्त गर्ने)।
आफ्नो सेल्फ-केयर कसरी सुरु गर्ने ?
सेल्फ-केयरको यात्रा सानो तर सचेत कदमबाट सुरु हुन्छ। यो एक निरन्तर प्रक्रिया हो, जसले समय र धैर्य माग्छ। सेल्फ-केकेयरको 'एकै साइज सबैलाई फिट' हुने सूत्र छैन, किनकि तपाईंको उमेर, जीवनशैली, व्यक्तित्व र आवश्यकताअनुसार यसको अभ्यास फरक हुन सक्छ।
आत्म-मूल्याङ्कन गर्नुहोस्: आज तपाईंलाई कुन क्षेत्रमा बढी सेल्फ-केयरको आवश्यकता छ जस्तो लाग्छ? शारीरिक, मानसिक, भावनात्मक वा अन्य? आफ्ना आवश्यकताहरू पहिचान गर्नुहोस्।
सानाबाट सुरु गर्नुहोस्:
एकैचोटि ठूलो परिवर्तन ल्याउने प्रयास नगर्नुहोस्। दैनिक १०-१५ मिनेटको लागि आफूलाई आनन्द दिने कुनै एक गतिविधिबाट सुरु गर्नुहोस्। उदाहरणका लागि :
- बिहान ५ मिनेट गहिरो सास फेर्ने अभ्यास।
- मन पर्ने गीत सुन्दै चिया पिउने।
- ५ मिनेटको लागि प्रकृतिमा ध्यान दिने।
दिनचर्याको हिस्सा बनाउनुहोस्: सेल्फ-केयरलाई 'गर्नैपर्ने' कामको सूचीमा नराख्नुहोस्, बरु यसलाई आफ्नो दैनिक रुटिनको स्वाभाविक हिस्सा बनाउनुहोस्, जसरी तपाईं खानुहुन्छ वा सुत्नुहुन्छ।
लचिलो हुनुहोस् र आफूमाथि दयालु बन्नुहोस्: यदि कुनै दिन तपाईंले आफ्नो सेल्फ-केयर रुटिन पालना गर्न सक्नुभएन भने आफूलाई दोष नदिनुहोस्। यो सामान्य हो।
सेल्फ-केयर सुरु गर्दा समयको अभाव, आत्म-आलोचना वा सामाजिक दबाब जस्ता चुनौतीहरू आउन सक्छन्। भोलिपल्ट फेरि नयाँ ऊर्जाका साथ प्रयास गर्नुहोस्।
सीमा तोक्न नडराउनुहोस्: आफ्नो ऊर्जा र समयको ख्याल राख्नुहोस्। कहिलेकाहीँ अरूलाई 'नाइँ' भन्नु वा अतिरिक्त जिम्मेवारी लिन अस्वीकार गर्नु पनि सेल्फ-केयरको एक महत्त्वपूर्ण पक्ष हो।
अन्त्यमा,
सेल्फ-केयर कुनै ट्रेन्ड होइन, यो चेतनशील जीवनयापनको आधार हो। जब एउटा व्यक्तिले आफूलाई समय दिन्छ, ऊ केवल आफ्नो शक्ति बढाउँदैन, समाजलाई पनि सशक्त बनाउन थाल्छ। यो केवल समस्याको समाधान मात्र नभई, यो एक निरन्तर यात्रा हो जसले हामीलाई जीवनभर आत्म-खोज र व्यक्तिगत वृद्धिको मार्गमा डोर्याउँछ।
जीवनको हरेक पक्षमा स्थायित्व र समृद्धिका लागि आजैबाट आफूलाई प्राथमिकता दिन सुरु गरौं — किनकि मानसिक शान्ति, भावनात्मक स्थिरता र जीवनको स्पष्टता कुनै बहाना होइन, आवश्यकताको पराकाष्ठा हो।
*लेखक अर्याल पेशागत रूपमा संचारकर्मी तथा अनुभवी भाषणकला प्रशिक्षक हुनुहुन्छ । हामी सँगै भाग ६ मा अर्काे साता - सम्बन्धमा विष घोल्ने प्रवृत्ति: कसरी चिन्ने र जोगिने ? प्रकाशन हुने छ । Email [email protected]
र याे पनि पढनुहाेस्
हामीसँगै भाग ४ सम्बन्धमा सीमा निर्धारण (Boundary Setting) को महत्त्व
हामीसँगै भाग ३ बाहिरी दबाब र सम्बन्ध : मानसिक स्वास्थ्यका आयामहरू
हामीसँगै भाग २ पुरुषको मौनता: असहयोगका अदृश्य कारणहरू?
हामीसँगै भाग १ असहयोगी श्रीमान : मौनताको मूल्य र सम्बन्ध विच्छेदको जोखिम