नेपाली राजनीतिमा अक्सर ‘गफ’ गर्नेहरूको बाहुल्यता देखिन्छ, जहाँ आश्वासनका पुल त बन्छन्, तर भुइँमान्छेको जीवनस्तरमा परिवर्तनको अनुभूति खासै हुँदैन । तर कहिलेकाहीँ राजनीतिको यो धमिलो पोखरीमा यस्ता पात्रको प्रवेश हुन्छ, जसको पृष्ठभूमि कुनै दलीय नारामा होइन, आफ्नै पसिनाको गन्ध र कर्मको इतिहासमा कोरिएको हुन्छ ।
आगामी फागुन २१ गते हुने रुपन्देही क्षेत्र नं. २ को उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार बनेका चुन्नप्रसाद शर्मा पौडेल यस्तै एक पात्र हुन्, जसको परिचय भाषणले होइन, उनले खडा गरेका उद्योग र हजारौँको हातमा थमाएको रोजगारीले दिन्छ । उनको यो राजनीतिक ‘डेब्यु’ केवल एउटा पद प्राप्तिका लागि होइन, बरु कर्मले चिनिएका व्यक्तिलाई हृदयले चुन्ने अवसर पनि हो ।
किराना पसलदेखि पाँचतारे होटलसम्मको यात्रा
वि.सं. २०२२ सालमा बागलुङको हुग्दिशिरमा जन्मिएका शर्माको जग अभाव र संघर्षले बनेको हो । बुबा पशुपति र आमा पार्वती पौडेल शर्माको संस्कारमा हुर्किएका उनले प्राथमिक शिक्षा गुल्मीबाट सुरु गरेर उच्च शिक्षाका लागि भारतको बनारससम्मको यात्रा तय गरे । बनारसको त्यो प्राज्ञिक वातावरणले उनलाई केवल डिग्री मात्र दिएन, संसारलाई हेर्ने फराकिलो मानवीय दृष्टिकोण पनि दियो ।
धेरैलाई थाहा नहुन सक्छ—आजका यी स्थापित उद्यमी कुनै समय विद्यालयका ‘गुरु’ थिए । वि.सं. २०३८ सालतिर आफ्नै जन्मभूमिको विद्यालयमा शिक्षण सेवा सुरु गरेका उनलाई राष्ट्रको अर्थतन्त्रमा प्रत्यक्ष योगदान दिने हुटहुटीले व्यवसायतर्फ मोड्यो । वि.सं. २०४२ देखि २०५३ सम्म गुल्मीको रुपाकोटमा एउटा सानो किराना पसलबाट सुरु भएको उनको व्यावसायिक यात्रा आज विशाल औद्योगिक साम्राज्यमा परिणत भएको छ । यो यात्राले भन्छ—उनीसँग शून्यबाट शिखरसम्म पुग्ने धैर्य र दृष्टिकोण दुवै छ ।
सफल उद्यमी र रोजगारीको पर्याय
चुन्नप्रसाद शर्माको परिचय आज सफल उद्यमीमा मात्र सीमित छैन । उनले नेतृत्व गरेका उद्योगहरू आज देशकै अग्रणी र भरोसायोग्य व्यावसायिक प्रतिष्ठानका रूपमा उभिएका छन् । ‘यसोदा फुड्स’ मार्फत नेपाली उत्पादनलाई विश्वस्तरको पहिचान दिलाउनेदेखि बुटवलकै पहिलो पाँचतारे होटल ‘ह्यात प्लेस’ निर्माण गरेर उनले यस क्षेत्रको आर्थिक प्रतिष्ठालाई नयाँ उचाइ दिएका छन् ।
उनका व्यावसायिक प्रतिष्ठानहरूले ५ हजार भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएका छन् भने १० हजार भन्दा बढी परिवारको चुल्हो बाल्न मद्दत पु¥याएको बताइन्छ । खाडीको तातो बालुवामा पसिना बगाउन विवश युवाहरूका लागि उनी “स्वदेशमै सम्भव छ” भन्ने एउटा जीवित उदाहरण हुन् ।
यसका साथै, व्यावसायिक उचाइ लिँदै गर्दा उनले नागरिकको स्वास्थ्य अधिकारलाई सधैं प्राथमिकतामा राखे । वि.सं. २०५६ सालमा ‘बुटवल हस्पिटल प्रा.लि.’ स्थापनामा उनले खेलेको नेतृत्वदायी भूमिका स्वास्थ्य क्षेत्रप्रतिको उनको गहिरो संवेदनशीलताको परिचायक हो । उद्योगले आर्थिक समृद्धि दिन्छ भने अस्पतालले जीवनको सुरक्षा दिन्छ भन्ने बुझेका शर्माले स्वास्थ्य क्षेत्रमा गरेको योगदानले उनलाई केवल व्यवसायी मात्र होइन, समाजको सुख–दुःखको सारथीका रूपमा स्थापित गरेको छ ।
सामाजिक उत्तरदायित्व र मानवीय करुणा
पौडेलको व्यक्तित्वमा व्यावसायिक अनुशासन र आध्यात्मिक कोमलताको दुर्लभ संगम देखिन्छ । मन्दिर र गौशालाको संरक्षणदेखि असहाय प्राणीका लागि ‘डग सेल्टर’ सम्म पुग्ने उनको करुणाले उनलाई केवल व्यवसायी मात्र होइन, संवेदनशील नागरिकका रूपमा स्थापित गरेको छ । भूकम्प होस्, कोरोना महामारी वा बाढी–पहिरो—हरेक राष्ट्रिय विपत्तिमा उनले एम्बुलेन्स दान गर्नेदेखि राहत वितरणसम्म नेतृत्वदायी भूमिका खेलेका छन् । यही सामाजिक सेवाको जगले आज रुपन्देहीका जनतामा उनीप्रति गहिरो भरोसा पैदा गरेको छ ।
त्यागको राजनीतिः ‘तलब होइन, सेवाको संकल्प’
अक्सर प्रश्न उठ्छ—सबैथोक पुगेका एक सफल उद्योगी किन राजनीतिको यो ‘काँडेघारी’मा पस्न चाहन्छन् ? शर्माको जवाफ स्पष्ट र तार्किक छः “उद्योगले केही हजारलाई रोजगारी दिन सक्छ, तर एउटा सही नीतिले सिङ्गो देशको भविष्य बदल्न सक्छ ।” पौडेलले निर्वाचनको दौरानमा यस्तो घोषणा गरेका छन्, जसले धेरैको ध्यान खिचेको छ । उनले भनेका छन्—“सांसदका रूपमा मेरो उपस्थिति संसदमा नीति बनाउन हुनेछ भने मेरो पारिश्रमिक बापतको रकम उपचारको अभावमा पिल्सिएका नागरिकको ओखती–मूलोमा खर्च हुनेछ ।”
यो केवल चुनावी नारा मात्र होइन, बरु राजनीतिलाई ‘आर्जन गर्ने माध्यम’ बनाउनेहरूका विरुद्ध एउटा गतिलो झापड पनि हो । प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि राज्यबाट पाउने तलब र भत्ता विपन्न वर्गको उपचारमा खर्च गर्ने उनको घोषणाले उनी सुविधा भोग्न होइन, समाजको घाउमा मलम लगाउन आएका हुन् भन्ने सन्देश दिन्छ ।
उनको राजनीतिक एजेन्डा केवल चुनाव जित्नु मात्र होइन । उनीसँग रुपन्देही क्षेत्र नं. २ का लागि स्पष्ट मार्गचित्र (रोडम्याप) छः
१, शून्य सहनशीलता : भ्रष्टाचार र ढिलासुस्तीका विरुद्ध निर्मम रूपमा उभिने ।
२, आर्थिक पुनरुत्थान : बुटवलको सुस्ताएको व्यापारलाई पुनर्जीवित गर्ने ।
३, स्थायी समाधान : तिनाउ–दानव करिडोर र सुकुम्बासी समस्याको दीर्घकालीन निकास खोज्ने ।
४, महिला सशक्तीकरणः महिलालाई केवल कामदार होइन, स्वतन्त्र उद्यमी बनाउने ।
“देश निर्माणको महान् यात्रा बदला लिएर होइन, बदलिएर मात्र सम्भव छ” भन्ने उनको मान्यताले आजको राजनीतिमा नयाँ बहसको माग गर्दछ । आगामी फागुन २१ गते रुपन्देही क्षेत्र नं. २ का मतदाताले केवल एउटा प्रतिनिधि छान्ने छैनन्, बरु आफ्नो क्षेत्रको विकासका लागि ‘गफ’ रोज्ने कि ‘गति’, त्यो तय गर्नेछन् ।
पसिना र इमानदारीले आफ्नो इतिहास लेखेका एक कर्मयोगीलाई नीति निर्माणको तहमा पुर्याउँदा यस क्षेत्रले कस्तो गति लिन्छ ? यसको उत्तर अब रुपन्देहीका चेतनशील नागरिकको विवेकमा निर्भर छ ।

