Lumbini Rise
२०८३: पात्रो फेरियो, प्रवृत्ति कहिले?

​आज वैशाख १ गते। भित्तामा झुुण्डिएका पुराना पात्रोहरू फेरिएका छन्। सूर्यले राशि परिवर्तन गरेको छ र हामी एउटा नयाँ अङ्क- २०८३ मा प्रवेश गरेका छौँ। शुभकामनाका रङ्गीन शब्दहरूले सामाजिक सञ्जालका भित्ताहरू भरिएका छन्।

तर, के समयको यो निरन्तर चक्रमा एउटा अङ्कको फेरबदल हुनु नै नयाँपन हो? के शुभकामनाका अक्षरहरूले मात्र हाम्रा पुराना नियतिलाई सजाउन सक्छन्? २०८३ सालको यो पहिलो बिहानीमा उभिएर आफैँलाई प्रश्न गर्न मन लागेको छ- हामीले कहिलेसम्म पात्रो परिवर्तनलाई नै उपलब्धि मानिरहने? कहिलेसम्म एउटा दलको बहिर्गमन र अर्कोको उदय हुनुलाई मात्र 'परिवर्तन' को संज्ञा दिइरहने?

​नेपालको सन्दर्भमा 'नयाँ' शब्द आफैँमा एउटा भ्रम बन्न पुगेको छ। हामी पात्र बदल्न त माहिर भयौँ, तर प्रवृत्ति बदल्न सधैँ चुक्यौँ।

​‘नयाँ नेपाल’देखि ‘नयाँ संविधान’सम्म

​नेपाली राजनीति लामो समयदेखि 'नयाँ' भन्ने शब्दको आशयमा रुमल्लिइरहेको छ। २०६२/६३ पछि सबैभन्दा बढी गुन्जिएको शब्द थियो- 'नयाँ नेपाल'। त्यसबेला लाग्यो, अब पुराना र गलत संस्कारहरू सकिए, अब देशले साच्चै काँचुली फेर्नेछ। तर विडम्बना! 'नयाँ नेपाल' को त्यो भव्य सपना बिस्तारै राजनीतिक दलहरूको सत्ता व्यवस्थापन र भागबन्डाको चक्रव्यूहमा फस्यो।

​हामीले संविधान नयाँ पायौँ, व्यवस्था नयाँ पायौँ र राज्यको संरचना पनि नयाँ बनायौँ। तर, त्यो व्यवस्था सञ्चालन गर्ने 'प्रवृत्ति' भने दशकौँ पुरानो विरासतबाट मुक्त हुन सकेन।

सरकारहरू फेरिए, गठबन्धनहरू भत्किए र बने, तर सरकारी कार्यालयमा हुने सास्ती, अस्पतालको लाइन र राहदानी विभागमा लाग्ने युवाहरूको भीडमा कुनै नयाँपन आएन। 'नयाँ' को नारा केवल चुनावी घोषणापत्रमा सीमित रह्यो। इतिहास साक्षी छ- जबसम्म शासकको मनमा 'म यो देशको मालिक होइन, सेवक हुँ' भन्ने चेत पलाउँदैन, तबसम्म जतिसुकै नयाँ संविधान लेखे पनि त्यसले नागरिकको अवस्था बदल्न सक्दैन।

​प्रवृत्ति परिवर्तन: के र किन?

​प्रवृत्ति परिवर्तन राजनीतिमा सरकार बदल्नु जस्तो प्राविधिक प्रक्रिया मात्र होइन; यो त राज्य सञ्चालनको मनोविज्ञान र संस्कारलाई नै नयाँ जीवन दिनु हो। नेपालको सन्दर्भमा यसको पहिलो खुड्किलो 'जवाफदेहिताको संस्कृति' हो।

जबसम्म पदमा बस्नेहरूले आफ्नो गल्तीमा क्षमायाचना गर्ने र त्यसको नैतिक जिम्मेवारी लिने हिम्मत गर्दैनन्, तबसम्म शासन केवल सत्ताको अहङ्कार मात्र रहन्छ। गल्ती लुकाउने र अर्कोलाई दोषारोपण गर्ने विद्यमान राजनीतिक चरित्रले नै हाम्रो लोकतान्त्रिक व्यवस्थालाई कुरुप बनाएको छ।

​अर्कोतर्फ, हाम्रो समाजलाई 'आफ्नो मान्छे' संस्कृतिले एउटा भयानक ऐंजेरु झैँ गाँजेको छ। प्रवृत्तिको वास्तविक रूपान्तरण तब मात्र सम्भव छ, जब अवसरहरू दलका कार्यकर्ता वा नातावादका आधारमा होइन, बरु योग्यता र क्षमता (Meritocracy) का आधारमा बाँडिन्छन्। जबसम्म बौद्धिक वर्ग पलायन हुन बाध्य हुन्छ र आफ्नालाई काखी च्याप्ने संकुचित सोच हाबी रहन्छ, तबसम्म जतिसुकै नयाँ पात्रहरू सत्तामा आए पनि प्रणालीमा सुधार आउन सक्दैन।

​अवसर र अग्निपरीक्षा

​अहिलेको राजनीतिक कार्यशैली प्रायः 'तदर्थवाद' मा चलेको छ, जहाँ केवल आजको सङ्कट टार्ने र कुर्सी जोगाउने खेल खेलिन्छ। तर देश निर्माणका लागि दुरदृष्टि र धैर्यता आवश्यक पर्छ। आज सत्ताको बागडोर सम्हाल्नेहरूसँग करिब दुई-तिहाइको शक्तिशाली समर्थन छ, जुन नेपालको इतिहासमा एउटा दुर्लभ अवसर हो।

ताजा जनादेश र वैकल्पिक राजनीतिको जगमा बनेको वर्तमान सरकारले परम्परागत बेथितिहरूलाई चिर्दै यो ऐतिहासिक अवसरलाई कसरी सदुपयोग गर्छ, त्यो हेर्न बाँकी छ।

​आज रोपिएको बिरुवाको फल अर्को पुस्ताले खान पाउँछ भन्ने निःस्वार्थ भावना जब शासक र नागरिक दुवैमा जागृत हुन्छ, तब मात्र बुझ्नुपर्छ कि नेपालमा साच्चै सुधारको यात्रा सुरु भयो। पात्रो पल्टिएसँगै यस्तो गहिरो चेतको विकास हुनु नै नयाँ वर्षको वास्तविक सार्थकता हो।

​उत्सवको नाममा 'उपभोक्तावाद'

​हाम्रो सांस्कृतिक चेत पनि बिस्तारै संकुचित हुँदै गएको छ। नयाँ वर्ष भन्नासाथ रिसोर्टका प्याकेज, मदिराका बोतल र तडकभडकपूर्ण भोजभतेर मात्र सम्झिने प्रवृत्ति बढेको छ। नयाँ वर्षको अर्थ 'संकल्प' हुनुपर्नेमा यो केवल 'खर्च र प्रदर्शन' मा सीमित भएको छ।

​वास्तवमा नयाँ वर्ष आत्मसमीक्षाको दिन बन्नुपर्ने थियो। वर्षभरिका गल्तीहरूबाट के सिक्यौँ र अबको वर्ष समाजका लागि के योगदान दिन सक्छौँ भन्ने विमर्श हुनुपर्ने थियो। तर, उपभोक्तावादी संस्कृतिले विचारलाई विस्थापित गरिदिएको छ। जब समाजले विचारभन्दा बढी वस्तुलाई र दर्शनभन्दा बढी प्रदर्शनलाई महत्त्व दिन्छ, तब त्यहाँ सुधार होइन, विकृतिको विस्तार हुन्छ।

​युवा पुस्ता (Gen Z): खबरदारीको समय

​नेपालको वर्तमान राजनीतिमा जुन परिवर्तनको कम्पन देखिएको छ, त्यसको मुख्य श्रेय 'जेन-जी' अर्थात् नयाँ पुस्तालाई जान्छ। यो पुस्ताको विद्रोहकै जगमा आज नयाँ अनुहारहरू सत्ताको केन्द्रमा पुगेका छन्।

जनताले, विशेष गरी युवाहरूले, यी पात्रहरूलाई ठूलो भरोसा गरेका छन्। तर, यो अटुट विश्वास नै अहिलेको सबैभन्दा ठूलो 'अग्निपरीक्षा' पनि हो।

​नयाँ पुस्ताले बुझ्न जरुरी छ- पात्र फेर्दैमा प्रवृत्ति फेरिँदैन। आज जसलाई हामीले 'विकल्प' भनेर काँधमा बोकेका छौं, कतै उनीहरू पनि उही पुरानो प्रवृत्तिको नयाँ संस्करण त बन्दै छैनन्? यो प्रश्न गर्ने साहस युवाहरूले देखाउनै पर्छ। सामाजिक सञ्जाललाई मनोरञ्जनबाट माथि उठाएर 'निगरानीको औजार' बनाउनु र सरकारलाई 'नतिजा' को आधारमा मात्र समर्थन गर्नु आजको आवश्यकता हो।

​संकल्पको वर्ष २०८३

​२०८३ सालको यो नयाँ बिहानीले हामीलाई केवल उत्सव मनाउने अवसर मात्र नदियोस्, बरु आफ्नो सोच र कार्यशैली बदल्ने प्रेरणा पनि दियोस्। पात्रो फेरिए जस्तै हाम्रो नियत फेरियोस्। सरकारको अनुहार भन्दा पनि शासनको संस्कार फेरियोस्।

​नयाँ वर्षको शुभकामना साटासाट गरिरहँदा, आफैँलाई एउटा प्रश्न गरौँ- के म भित्रको त्यो पुरानो र स्वार्थी प्रवृत्ति फेर्न म तयार छु? यदि जवाफ 'हो' छ भने मात्र वास्तविक नयाँ वर्ष सुरु भएको मानिनेछ।

अन्यथा, पात्रोको पाना पल्टिरहनेछ, तर हाम्रो देशको अवस्था भने उही पुरानो धुलोमै अल्झिरहनेछ। ​आउनुहोस्, यो २०८३ साललाई 'प्रवृत्ति रूपान्तरण' को प्रस्थान विन्दु बनाऔँ। नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!

अर्याल भाषणकला प्रशिक्षक तथा सञ्चारकर्मी हुन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update