बुटवल- मितेरी इन्टरनेशनल सिमली मन्टेश्वरी स्कूलको दोस्रो स्थापना दिवस तथा भित्तेपात्रो विमोचन कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको प्रमुख आतिथ्यतामा दोस्रो स्थापना दिवस तथा भित्तेपात्रो विमोचन गरिएको हो ।
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी पाध्याले शिक्षा नै सबैभन्दा ठूलो रहेको बताउँदै अनाथ बालबालिकाहरुलाई अध्ययन गराएकोमा संस्थालाई धन्यवाद दिए । उनले अनाथ र टुहुरा बालबालिकाहरुलाई शिक्षाबाट बञ्चित गराउन नहुने बताए ।
यस्तै मन्टेश्वरीका संस्थापक अध्यक्ष महेन्द्रराज अर्यालले आफ्नो परिवारले अनाथ बालबालिकाहरुलाई शिक्षाबाट बञ्चित नहुन भन्ने उदेश्यले मन्टेश्वरी सञ्चालनमा ल्याएको बताए । उनले आफ्नो परिवारको दानबाट मन्टेश्वरी सञ्चालन हुँदै आएको बताउँदै सबैलाई सहयोगका लागि समेत अपिल गरे ।
बुटवल ११ मझुवामा सञ्चालित मन्टेश्वरीमा आर्थिक रुपमा विपन्न समुदायका ८० भन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।
दोस्रो स्थापना दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाका न्यायिक समिति सदस्य गौतमलाल शाक्य, मितेरी बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष शत्रुधन शाह, विद्यालय व्यवस्थापन समितिका सदस्य सुहा बहादुर नेपाली, मन्टेश्वरीका प्राचार्य मधु महतारा, कार्यकारी निर्देशक सिजन अर्याल, अभिभावक गोमा कार्की लगायतले बोल्दै मन्टेश्वरी दोस्रो स्थापना दिवसको शूभकामना दिएका थिए ।
दोस्रो स्थापना दिवसका अवसरमा मन्टेश्वरीको र मितेरी बहुउदेश्यीय सहकारीको २०८३ सालको क्यालेन्डर समेत विमोचन गरिएको थियो । स्थापना दिवसका अवसरमा शनिबार रक्तदान कार्यक्रम गरिएको थियो । रक्तदानमा २० यूनिट रगत संकलन भएको थियो ।
साथै मन्टेश्वरी भवन परिसरमा बृक्षारोपण समेत गरिएको छ । स्थापना दिवसका अवसरमा रक्तदाता, विद्यार्थी तथा अन्य व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।


