कोभिड–१९ महामारीले विश्वको शिक्षा प्रणालीमा गम्भीर असर पारेको थियो। युनेस्को (UNESCO) का अनुसार महामारीका कारण विश्वभर करिब १.६ अर्बभन्दा बढी विद्यार्थीहरूको पढाइ प्रभावित भएको थियो, जसले शिक्षा क्षेत्रमा ठूलो सिकाइ संकट सिर्जना गर्यो। नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव देखियो जहाँ लाखौं विद्यार्थीहरू लामो समयसम्म विद्यालय बाहिर रहनुपर्यो।
नेपालको सन्दर्भमा हेर्दा, युनिसेफ (UNICEF) को तथ्याङ्क अनुसार कोभिडका कारण नेपालका करिब ८.३ मिलियन (८३ लाख) विद्यालय उमेरका बालबालिकाको पढाइमा ठूलो क्षति पुगेको थियो।
लामो समयसम्म विद्यालय बन्द हुँदा उनीहरूको सिकाइ निरन्तरता टुटेको र पढाइप्रतिको बानी कमजोर भएको पाइयो। यसले गर्दा महामारीपछि कक्षामा फर्किएका धेरै विद्यार्थीहरूमा पढाइप्रति पहिलेको जस्तो उत्साह देखिएन ।
त्यस्तै, एउटा अध्ययनले देखाएको छ कि कोभिडको समयमा ८३% विद्यार्थीहरूको परीक्षा र शैक्षिक गतिविधि प्रभावित भएको, ७०% भन्दा बढी विद्यार्थी शिक्षकसँग सम्पर्कमा नरहेका कारण आफ्नो भविष्यप्रति चिन्तित भएका र दुईतिहाइभन्दा बढी विद्यार्थीहरूले सामान्य समयभन्दा कम समय मात्र पढाइमा दिएका थिए। यस्तो अवस्थाले विद्यार्थीहरूको अध्ययन अनुशासनमा गिरावट ल्याएको र आत्म-अध्ययन गर्ने बानी घटाएको देखिन्छ।
अर्को महत्वपूर्ण तथ्य भनेको डिजिटल पहुँचको असमानता हो। युनिसेफको प्रतिवेदन अनुसार नेपालका दुईतिहाइभन्दा बढी विद्यार्थीहरूले विद्यालय बन्द हुँदा प्रभावकारी रूपमा अनलाइन वा दूरशिक्षा पहुँच पाउन सकेनन्। यसले ग्रामीण र शहरी विद्यार्थीबीच शैक्षिक असमानता बढाएको मात्र होइन, धेरै विद्यार्थीहरू पढाइबाट नै टाढा हुने अवस्था पनि सिर्जना गर्यो।
यी तथ्यहरूले देखाउँछन् कि कोभिडपछि विद्यार्थीहरूमा शिक्षकप्रति उदासीनता, परीक्षालाई सामान्य रूपमा लिनु र अभिभावकको सुझावप्रति कम चासो देखिनुको पछाडि गहिरो मनोवैज्ञानिक र शैक्षिक कारणहरू छन्। लामो समयसम्मको अनियमित दिनचर्या, मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोग, तथा प्रत्यक्ष सिकाइ वातावरणको अभावले उनीहरूको ध्यान र लक्ष्यप्रति असर गरेको छ।
यस समस्याको समाधानका लागि शिक्षकहरूले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक, प्रविधि-आधारित र सहभागितामूलक शिक्षण विधि अपनाउनुपर्छ। अभिभावकहरूले पनि अंकको दबाबभन्दा सिकाइको महत्व बुझाउने वातावरण बनाउनुपर्छ। साथै विद्यालयहरूले परामर्श कार्यक्रम, अतिरिक्त क्रियाकलाप र प्रेरणामूलक कार्यक्रम सञ्चालन गरेर विद्यार्थीहरूको आत्मविश्वास बढाउन आवश्यक छ।
अन्ततः, तथ्याङ्कहरूले देखाएजस्तै कोभिड–१९ ले शिक्षा क्षेत्रमा अस्थायी मात्र होइन, दीर्घकालीन प्रभाव पारेको छ। त्यसैले अबको आवश्यकता भनेको विद्यार्थीहरूमा पुनः अध्ययनप्रति रुचि, आत्मअनुशासन र खोजमूलक सोच विकास गर्नु हो।
यदि विद्यार्थी, शिक्षक र अभिभावकबीच सहकार्य बढाइयो भने मात्र यो चुनौतीलाई अवसरमा परिवर्तन गर्न सकिन्छ। शिक्षा केवल परीक्षा पास गर्ने माध्यम होइन, भविष्य निर्माण गर्ने आधार हो भन्ने बुझाइ सबैमा विकास गर्न जरुरी छ।
- लेखक बस्याल प्राध्यापक हुनुहुन्छ ।


