बुटवल - हामी जुन शहरमा जन्मिएका छौँ, हुर्किएका छौँ–त्यही शहरको इतिहास र सांस्कृतिक जराबारे हामीलाई कति थाहा छ ? यही गम्भीर प्रश्नलाई केन्द्रमा राखेर इन्टलेक्च्युअल एकेडेमीले “हामी बस्ने शहरको कथा“ शैक्षिक कार्यक्रम सुरु गरेको छ । बुधवारदेखि यो कार्यक्रमको सुभारम्भ गरिएको हो ।
बुटवलको ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक बनावटमा केन्द्रित पहिलो शृङ्खलामा अध्येता तथा बरिस्ठ साहित्यकार देवेन्द्रराज शाक्यले आफ्नो विद्वतापूर्ण प्रस्तुति राखे । उनले जितगढी युद्धको ऐतिहासिक महत्त्वदेखि लिएर बुटवलको पुरानो व्यापारिक परम्परा र सामाजिक संरचनाबारे जीवन्त चर्चा गरे ।
नुन, कपडा, अन्न र जडीबुटीको व्यापारिक केन्द्रको रूपमा बुटवलले खेल्दै आएको भूमिका र यहाँको नामाकरणका रोचक प्रसङ्गहरू सुनाउँदा कक्षाकोठामा उपस्थित विद्यार्थीहरू मन्त्रमुग्ध भएका थिए ।
शाक्यले नयाँ पुस्तालाई आफ्नो शहरको इतिहास पढ्न, बुझ्न र संरक्षण गर्न आग्रह गर्दै भने “इतिहास केवल बितेको समयको फेहरिस्त मात्र होइन, यो त उज्ज्वल भविष्य निर्माणको आधारशिला पनि हो।“
यस्तै सोही कार्यक्रममा इन्टलेक्च्युअल एकेडेमीका प्रबन्ध निर्देशक रामराज पोख्रेलले यो कार्यक्रम स्थान– आधारित शिक्षण र कथा–केन्द्रित अध्यापनको एउटा नमूना अभ्यास भएको बताए । पाठ्यपुस्तकले दिन नसकेको तर जीवनका लागि अपरिहार्य स्थानीय ज्ञानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमको परिकल्पना गरिएको पोख्रेलले प्रष्ट पारे ।
कार्यक्रमलाई विद्यार्थीहरूले ‘बुटवललाई नयाँ आँखाले चिन्ने’ अवसरका रूपमा वर्णन गरेका छन् । कक्षा ९ मा अध्ययनरत विद्यार्थी रोनित ज्ञवालीले बुटवलमा यति धेरै इतिहास छ भन्ने थाहै नभएको बताउँदै यो कार्यक्रमपछि आफ्नो शहरप्रति अझ बढी माया र सम्मान जाग्न थालेको अनुभव सुनाए।
त्यस्तै, कक्षा १० की छात्रा श्रेया गैरेले जितगढी युद्धको वीरगाथाले आफूलाई सबैभन्दा बढी छोएको बताउँदै आफ्नै माटोको गौरवपूर्ण कथा सुन्न पाउनु निकै रोचक र प्रभावकारी रहेको उल्लेख गरिन् ।
अर्को अंकमा “बुटवलः पश्चिम नेपालको व्यापारिक केन्द्र किन र कसरी?“ तथा “बाजेको पालादेखि जेन–जेड सम्मको समृद्धिको कथा प्रस्तुत गरिने शिक्षक सुभास भण्डारीले बताए ।

