Lumbini Rise
बालेन सरकार: राजनीतिक प्रतिशोध कि विधिको शासनको सुरुवात?

 

​नेपाली राजनीतिको आकाशमा दशकौँदेखि एउटै प्रश्न मडारिरहेको छ- के यो देशमा विधिको शासन कहिल्यै स्थापित होला? आश्वासनका पोकाहरू फुस्किए, पात्रहरू फेरिए, तर पद्धतिमा सुधार आउन सकेन। आज सडकदेखि सदनसम्म एउटै गम्भीर बहस छः के अब साँच्चै केही बदलिँदै छ? वा यो केवल अर्को एउटा क्षणिक राजनीतिक लहर मात्र हो?

​नेपालको राजनीतिक इतिहासमा त्याग र संघर्षका स्वर्णिम पानाहरू छन्। तर, पछिल्ला दशकहरूमा सत्ताको लुछाचुडी र भ्रष्टाचारका गम्भीर आरोपहरूले ती गौरवपूर्ण इतिहासलाई समेत छायामा पारिदिए। ’ठूला माछा’ सधैँ उम्कने र पहुँच नहुनेहरू मात्र कानुनको फन्दामा पर्ने नियतिले आम जनतामा राज्यको न्याय प्रणालीप्रति नै अविश्वास पैदा गरिदिएको थियो।

वर्षौँदेखि नेतृत्वमा रहेका कतिपय पात्रहरूमाथि लागेका भ्रष्टाचारका मुद्दाहरू केवल राजनीतिक दाउपेचका हतियार मात्र बने। तर, पछिल्लो समय बालेन शाहको उदय र उनले अख्तियार गरेको कार्यशैलीले नेपाली राजनीतिमा एउटा नयाँ र अर्थपूर्ण कम्पन पैदा गरिदिएको छ।

​बालेन सरकारको प्रवेशलाई केवल एउटा व्यक्तिको आगमनका रूपमा मात्र हेर्नु हुन्न। यो त दशकौँदेखि जकडिएको ’यथास्थिति’ विरुद्धको एउटा दरिलो संकेत हो। यद्यपि, थिति बस्न समय लाग्छ।

 रातारात जादु हुने अवस्था पनि छैन, तर बेथिति विरुद्धको एउटा बलियो जग भने पक्कै खडा भएको छ। जब एउटा युवा नेतृत्वले थन्किएका फाइलहरूमा चासो देखाउँछ र सडकदेखि प्रशासनिक निकायसम्म कानुनको सर्वोच्चताको वकालत गर्न थाल्छ, तब आशाको एउटा झिल्को बल्नु स्वाभाविक हो।

अहिलेको सन्देश एकदमै स्पष्ट छः “यदि तपाईं निर्दोष हुनुहुन्छ भने कानुनले तपाईंलाई स- सम्मान चोख्याउनेछ, तर यदि गल्ती छ भने पद र प्रतिष्ठाले अब तपाईंलाई बचाउने छैन।”

​यहाँ एउटा कुरा अत्यन्तै मननयोग्य छ- सबै पुराना नेताहरू खराब छैनन्। नेपालको लोकतान्त्रिक परिवर्तनमा रगत-पसिना बगाएका, निष्कलंक छवि भएका र दूरगामी दृष्टिकोण राख्ने अनुभवी नेताहरू पनि यही प्रणालीभित्रै छन्। तर, प्रवृत्तिका कारण उनीहरू पनि कतिपय अवस्थामा घेराबन्दीमा परेका छन्। बालेन सरकारले जगाएको यो आशा ती इमानदार र अनुभवी नेताहरूका लागि एउटा ’सुनौलो अवसर’ पनि हो।

उनीहरूले आफूमाथि लागेका निराधार आरोपहरूलाई कानुनमार्फत नै गलत सावित गर्ने र प्रणाली सुधारका लागि नयाँ पुस्तासँग सहकार्य गर्ने यो उपयुक्त समय हो। के हामी अब यस्तो थितितर्फ जाँदैछौँ जहाँ व्यक्तिको अनुहार वा दल हेरेर होइन, प्रमाण र विधिको आधारमा न्याय सम्पादन हुनेछ?

​यद्यपि, यो बालेन सरकारका अगाडि एउटा भयानक जोखिम पनि छ। यदि यो अभियान केवल विपक्षीलाई तह लगाउने रणनीतिमा सीमित भयो र ’आफ्नालाई जोगाउने, अरूलाई थुन्ने’ नियत देखियो भने, त्यसले झनै ठूलो दुर्घटना निम्त्याउनेछ। न्यायको तराजु सधैँ सन्तुलित हुनुपर्छ।

यदि कसैलाई काखा र कसैलाई पाखा गर्ने पक्षपातपूर्ण शैली अपनाइयो भने, बालेन सरकारको पतन कसैले सोच्न नसक्ने गरी द्रुत गतिमा हुने निश्चित छ। जनताले बालेनबाट ’बदला’ होइन, ’बदलाव’ (परिवर्तन) चाहेका हुन्।

बालेन सरकार प्रतिशोधको राजनीतिमा फस्यो भने, नेपाली जनतामा “जुन जोगी आए पनि कानै चिरेका“ भन्ने चरम निराशा पैदा हुनेछ, जसले समग्र वैकल्पिक राजनीतिको भविष्य नै अन्धकार बनाइदिनेछ।

​अब ’वारपार’ हुनैपर्ने मोड आएको छ। यो वारपार केवल कसलाई दोषी देखाउने भन्नेमा मात्र सीमित छैन; यो त हाम्रो राष्ट्रिय कार्यशैली र मानसिकताको लडाइँ हो। न्याय प्रक्रिया र ’आरोपको संस्कृति’ बीचको खाडल अब पुरिनुपर्छ।

कसैलाई मन परेन भन्दैमा ’भ्रष्टाचारी’ को ट्याग भिराइदिने र कसैलाई जोगाउन ’राजनीतिक प्रतिशोध’ को ढाल प्रयोग गर्ने पुरानो खेल अब बन्द हुनुपर्छ। यदि पुराना र अनुभवी नेताहरूले अझै पनि यो बदलिँदो जन-मनोविज्ञानलाई बुझ्न सकेनन् र उही पुरानो ’सेटिङ’ को बाटो खोजिरहे भने, त्यो उनीहरूका लागि केवल राजनीतिक अवसानको बाटो मात्र हुनेछैन, इतिहासकै ’अन्तिम चेतावनी’ सावित हुनेछ।

​चुनौतीहरू अझै पनि पहाडजस्तै छन्। बालेन सरकारले केही आशा त जगाएको छ, तर संरचनात्मक सुधार र कानुनी राज्यको पूर्ण प्रत्याभूति गराउन धैरे काम बाँकी छ। 

राजनीतिक दबाब र कर्मचारीतन्त्र भित्रको पुरानो जालो तोड्नु सजिलो छैन। तर, यो लडाइँमा कुनै व्यक्ति विशेष मात्र पात्र होइन। यसको पछाडि त्यो सचेत युवा पुस्ता छ, जो अब ’हुँदैछ’ भन्ने आश्वासनमा होइन, ’भयो’ भन्ने परिणाममा विश्वास गर्छ। हामीलाई यस्तो न्यायको स्वरूप चाहिएको छ, जसले निर्दोषलाई न्याय र दोषीलाई दण्ड सुनिश्चित गरोस्।

​यो केवल एउटा राजनीतिक फेरबदल होइन, यो नेपालको भविष्यको दिशाबोध हो।  के हामी सधैँ आशंका र आरोपकै बीचमा बाँचिरहने? के हाम्रा पुराना नेताहरूले आफ्नो अनुभव र नयाँ पुस्ताको जोशलाई मिलाएर एउटा दिगो पद्धति बसाल्न सक्दैनन्? समयले एउटा कठोर रेखा कोरिदिएको छ। अबको राजनीति केवल विरासत र भाषणले मात्र चल्ने छैन। 

यो समय इमानदारहरूका लागि अवसर र बेइमानहरूका लागि चेतावनी हो। जसले समयको यो पदचाप र न्यायको यो नयाँ मानक बुझ्न सक्छ, उसैको राजनीति आगामी दिनमा सान्दर्भिक रहनेछ।

– लेखक अर्याल सञ्चारकर्मी तथा भाषणकला प्रशिक्षक हुन् । 

 

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update