मानव जीवनमा व्यवहार र संचारको अत्यन्त महत्वपूर्ण भूमिका रहेको हुन्छ। मानिसले आफ्नो विचार, भावना र धारणा व्यक्त गर्ने प्रमुख माध्यम भाषा र व्यवहार नै हो।
सकारात्मक भाषा, सम्मानजनक व्यवहार र सानो प्रशंसाले व्यक्तिको आत्मविश्वास बढाउनुका साथै सामाजिक सम्बन्धलाई बलियो बनाउँछ।
यसको विपरीत, नकारात्मक टिप्पणी, अशिष्ट व्यवहार र अपमानजनक अभिव्यक्तिले मानसिक तनाव, असुरक्षा र सामाजिक दूरी बढाउन सक्छ। त्यसैले सभ्य संचार सभ्य समाज निर्माणको आधार मानिन्छ।
आधुनिक डिजिटल युगमा सामाजिक सञ्जालले संचारको स्वरूपलाई पूर्ण रूपमा परिवर्तन गरेको छ। फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक जस्ता माध्यमहरूले मानिसहरूलाई आफ्ना विचार स्वतन्त्र रूपमा व्यक्त गर्ने अवसर दिएका छन्। तर यस स्वतन्त्रताको दुरुपयोग गरेर कसैको मानहानि गर्ने, झुटा सूचना फैलाउने, ट्रोलिङ गर्ने तथा साइबर बुलिङ गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ। यसले सामाजिक सञ्जाललाई कहिलेकाहीँ सकारात्मक प्लेटफर्मभन्दा बढी विवादको थलो बनाएको देखिन्छ।
विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले सामाजिक सञ्जालमा हुने दुर्व्यवहारको दर बढ्दै गएको देखाएका छन्। एक अध्ययन अनुसार विश्वभरका किशोर–किशोरीहरूमा साइबर बुलिङको दर १०% देखि ७०% सम्म रहेको पाइन्छ। त्यस्तै BMC Psychiatry (2023) को अध्ययन अनुसार ४२.८% किशोरहरूले कुनै न कुनै रूपमा साइबर बुलिङ अनुभव गरेका छन्।
Statista (2024) का अनुसार अमेरिकामा ७७.५% विद्यार्थीहरूले आफूविरुद्ध अनलाइनमा अपमानजनक टिप्पणी भएको बताएका छन् भने ७०.४% विद्यार्थीहरूबारे अफवाह फैलाइएको उल्लेख गरिएको छ। यसबाहेक करिब १०% विद्यार्थीहरूले साइबर बुलिङका कारण विद्यालय जान छोडेको तथ्यले यसको गम्भीरता झन् स्पष्ट पार्छ।
साइबर बुलिङको प्रभाव केवल सामाजिक मात्र नभई मानसिक रूपमा पनि गम्भीर हुन्छ। अनुसन्धानहरूले देखाएका छन् कि यस्ता नकारात्मक टिप्पणीका कारण पीडित व्यक्तिहरूमा तनाव, चिन्ता, डिप्रेसन, आत्मसम्मानमा कमी तथा सामाजिक अपमान जस्ता समस्या देखिन सक्छन्। ScienceDirect मा प्रकाशित एक अध्ययन अनुसार १३% देखि १७% कर्मचारीहरूले कार्यसम्बन्धी अनलाइन दुर्व्यवहार अनुभव गरेका छन्, जसले उनीहरूको कार्यसन्तुष्टि र मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको छ। PMC मा प्रकाशित अर्को अध्ययनले १३% देखि ३०% कर्मचारीहरूले workplace bullying को अनुभव गरेको उल्लेख गरेको छ।
नेपालको सन्दर्भमा पनि सामाजिक सञ्जालको प्रयोग बढेसँगै साइबर अपराधका घटनाहरू बढ्दै गएका छन्। Rajbhandari र Rana द्वारा गरिएको एक अध्ययनले शिक्षकहरू समेत सामाजिक सञ्जालमा ट्रोलिङ, अपमानजनक टिप्पणी, झुटा आरोप तथा प्रतिष्ठामा आँच आउने गतिविधिको सिकार भएको देखाएको छ। यसले देखाउँछ कि यस्तो समस्या विद्यार्थी वा युवामा मात्र सीमित नभई समाजका सबै वर्गमा फैलिएको छ।
नेपालको कानुनी व्यवस्थाले पनि सामाजिक सञ्जालमार्फत गरिने दुर्व्यवहारलाई अपराधको रूपमा परिभाषित गरेको छ। विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार विद्युतीय माध्यमबाट कसैको चरित्रमा आँच आउने, सार्वजनिक नैतिकता विपरीत हुने वा अपमानजनक सामग्री प्रकाशन वा प्रसारण गर्न पाइँदैन। यदि कसैले यस्तो कार्य गरेमा पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। यसले सामाजिक सञ्जालमा गरिने गतिविधि पनि कानुनी दायराभित्र पर्ने कुरा स्पष्ट गर्छ।
त्यसैगरी मुलुकी अपराध संहिता, २०७४ ले गाली बेइज्जती, मानहानि तथा चरित्र हत्या गर्ने कार्यलाई पनि दण्डनीय अपराध मानेको छ। यदि कसैले जानाजानी कसैको प्रतिष्ठामा असर पर्ने गरी झुटा आरोप लगाउँछ वा अपमानजनक अभिव्यक्ति दिन्छ भने त्यस्तो व्यक्तिलाई कानुन अनुसार जरिवाना वा कैद सजाय हुन सक्छ। यसले अभिव्यक्ति स्वतन्त्रता पूर्ण रूपमा असीमित नभई जिम्मेवारीसहित प्रयोग गर्नुपर्ने कुरा स्पष्ट पार्छ।
अन्ततः उपलब्ध तथ्याङ्क, अनुसन्धान र कानुनी व्यवस्थाले स्पष्ट रूपमा देखाउँछन् कि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी र साइबर बुलिङ बढ्दो सामाजिक चुनौती हो। यसले व्यक्तिगत मानसिक स्वास्थ्य, शैक्षिक वातावरण, पारिवारिक सम्बन्ध तथा कार्यस्थलको उत्पादकत्वमा असर पार्छ।
त्यसैले सकारात्मक व्यवहार, सभ्य भाषा, सहनशीलता र जिम्मेवार डिजिटल प्रयोग आजको आवश्यकता बनेको छ। यदि प्रत्येक व्यक्तिले आफ्नो शब्द र व्यवहारप्रति जिम्मेवारी अपनाउने हो भने सामाजिक सञ्जाललाई नकारात्मकताको माध्यमबाट सकारात्मक ज्ञान, सहकार्य र सभ्य संवादको माध्यममा रूपान्तरण गर्न सकिन्छ।
- लेखक बस्याल प्राध्यापक हुनुहुन्छ ।


