बुटवल - स्थानीय सीप, कला तथा उत्पादनको संरक्षण, प्रवद्र्धन र बजारिकरण गर्ने उद्देश्यले बुटवलमा “रैथाने सीप, कला र उत्पादन प्रदर्शनी – २०८३” आयोजना गरिने भएको छ ।
विश्व सम्पदा दिवसको अवसर पारेर “हाम्रो पुस्ताको ज्ञान, हाम्रो देशको शान– स्थानीय सीप र कलाको जगेर्ना हाम्रो अभियान” भन्ने नारासहित आगामी वैशाख ५ गतेदेखि उक्त प्रदर्शनी सुरु गर्न लागिएको आयोजकले जनाएको छ ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल र खस्यौली बजार संयोजनमा सञ्चालन हुने प्रदर्शनी रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका – ६, ट्राफिकचोक नजिक पुरानो फिल्महल परिसरमा आयोजना हुनेछ ।
कार्यक्रममा स्थानीय सीपसम्बन्धी प्रत्यक्ष प्रदर्शन, हस्तकला तथा स्थानीय उत्पादनका करिब ५० वटा स्टल, मौलिक खाना परिकार, झाँकी तथा सांस्कृतिक प्रस्तुति रहनेछन् । प्रदर्शनीमार्फत लोपोन्मुख सीपको संरक्षण, स्थानीय उत्पादनको बजार पहुँच विस्तार, सांस्कृतिक सम्पदाप्रति जनचेतना अभिवृद्धि तथा रोजगारी र आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक रेवन्त बहादुर विश्वकर्माले जानकारी दिए ।
पत्रकार सम्मेलनमा स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालका अध्यक्ष डा. मानबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर यस प्रकारको प्रदर्शनी नेपालमै नयाँ र पहिलो प्रयास भएको दाबी गरे । उनले परम्परागत रैथाने उत्पादनले देशको अर्थतन्त्रमा योगदान पुर्याउने भएकाले यसको संरक्षण र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने बताए ।
त्यस्तैगरी खस्यौली बजारका व्यवस्थापक समुन्द्र घिमिरेले स्थानीय उत्पादनको आफ्नै महत्व रहेको उल्लेख गर्दै मेलामा उत्पादकहरूलाई निःशुल्क स्टल उपलब्ध गराइने जानकारी दिए। उनले वैशाख ३ गतेसम्म स्टल दर्ता खुला रहेको र प्रदर्शनीले उत्पादक र उपभोक्ताबीच पुलको काम गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तैगरी आदिवासी जनजाति महासंघ बुटवल नगर समन्वय समिति अध्यक्ष अरुणप्रसाद श्रेष्ठले बुटवलमै पहिलो पटक गरिने यो प्रदर्शनीले परम्परागत रैथाने वस्तुको संरक्षण तथा प्रबद्र्धनमा सहयोग पुग्ने बताउदै कार्यक्रममा सरिक हुन सबैलाई आग्रह गरे ।
त्यस्तैगरी आदिवासी जनजाति महासंघ रुपन्देही जिल्ला परिषद उपाध्यक्ष इन्द्र राइले बोल्दै पछिल्लो समय गुणस्तर वस्तुका नाममा विभिन्न क्षेत्रमा लोकप्रियता बढाउदै रैथाने वस्तुको प्रयोग गर्न कन्जुस्याइँ गर्ने चलन बढेकोले त्यसलाई चिर्नका लागि पनि यो प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।


