बुटवल - गोरखा दरवारदेखि बुटवल जितगढीसम्मको ऐतिहासिक एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको पदयात्राको यो चौंथो संस्करण हो ।
गोरखा दरबारको हनुमानभञ्ज्याङमा एक कार्यक्रमकाबीच पदयात्रामा सहभागीहरुलाई बिदाइ गरिएको छ । टर्च लाइटको साथमा नेपाली सेनाको प्रथम कम्पनीहरू श्रीनाथ, सबुज, पुरानो गोरख, बर्दवाणी र कालिबक्स) को झण्डा हस्तान्तरण गरेर उनीहरूलाई बिदाइ गरिएको रुद्रध्वज गणका गणपति विरोध रिजालले बताए ।
पश्चिम पृतना पोखराका पृतनापति उपरथी भोलानाथ थापा, पालुङटार नगरपालिकाका मेयर विवश चिन्तन, गोरखा नगरपालिकाकी उपमेयर मसली माया थोकर, सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा लगायतले संयुक्त रुपमा झण्डा र टर्च लाइट हस्तान्तरण गर्दै यात्रामा सहभागीहरुलाई बिदाइ गरेका हुन् । यात्रामा सेनानी रोशन अधिकारीको कमाण्डमा ३५ जनाको टोली सहभागी छन् ।
गोरखाबाट सुरु भएको पदयात्रा तनहुँ, पाल्पा हुँदै बुटवल जितगढी पुगेर टुंगिने छ । गोरखाको टोलीले पालुङटारको सतिघाट पुगेर आजै तनहुँलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछ । तनहुँले पाल्पालाई र पाल्पाले रुपन्देहीलाई बुझाउने गणपति रिजालले जानकारी दिए ।
कुल २०७ किलोमिटर दुरी टोलीले आठ दिनमा तय गर्ने छ । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्दै इतिहासको जगेर्ना गर्ने पदयात्राको उद्देश्य रहेको बताइएको छ । पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


