Lumbini Rise
चुनावी मौसम: नेता यात्रा र जनताको उदारता


वर्षमा चार ऋतु हुन्छन् , तर वास्तवमा पाँचौँ ऋतु पनि रहेछ—-चुनावी ऋतु। यो ऋतुमा गाउँका बाटा चिप्लो सडकमा हिड्ने नेताका लागि आफैँ चिल्ला हुन्छन्, नेताको जुत्ता आफैँ धुलो खान तयार हुन्छ र पाँच वर्षदेखि हराएका अनुहारहरू चमत्कारिक रूपमा प्रकट हुन्छन्।

जसलाई हिजोसम्म फोन गर्दा “स्विच अफ” आउँथ्यो, उनी आज आँगनमै उभिएर भन्छन्, “हामी त सधैँ तपाईँहरूसँगै छौँ।” गाउँलेहरू अचम्म मान्छन्— यति नजिकै हुनुहुँदो रहेछ, हामीले मात्रै नदेखेका रहेछौँ । 
नेता गाउँ पस्ने बित्तिकै वातावरण धार्मिक जुलुस जस्तै हुन्छ। फूलमालाको थुप्रो यति अग्लो हुन्छ कि कहिलेकाहीँ नेताको अनुहार नै देखिँदैन। सायद यही कारणले होला चुनावपछि पनि उनीहरू देखिँदैनन्।

वृद्ध आमाले काँपेको हातले टीका लगाउँदै भन्नुहुन्छ, “बाबु, बाटो बनाइदेऊ।” नेता गम्भीर हुँदै टाउको हल्लाउनुहुन्छ मानौँ भोलिदेखि डोजर चल्नेछ।

युवाहरू रोजगारी माग्छन् नेताजी भन्नुहुन्छ “अब विदेश जानु पर्दैन।” यो वाक्य यति धेरै दोहोरिन्छ कि विदेशमा बसेका नेपाली पनि मुसुमुसु हाँस्छन्।

गाउँलेहरूले चन्दा दिन्छन्। त्यो पैसा दिँदा उनीहरूलाई लाग्छ— यो देश बनाउने लगानी हो। उता केही नेताजी भने माला गन्न व्यस्त— “अघिल्लो गाउँमा २५ वटा माला थिए, यहाँ त ३० पुगे!” विकासको सूचकाङ्क सायद यही होला।

चुनावी भाषण पनि अनौठो हुन्छ। एउटै मञ्चबाट भनिन्छ— “यो देश प्राकृतिक स्रोतले धनी छ।” अर्को वाक्य— “हामी गरिब छौँ।” जनता सोच्न थाल्छन्— धनी पनि हामी, गरिब पनि हामी। साँच्चै अद्भुत अर्थतन्त्र!

नेपालमा हिमाल छ, नदीनाला छन्, जडीबुटी छन्, पर्यटन छ, मेहनती जनता छन्। नहुँदा के रहेछ त? सायद जिम्मेवारी बोक्ने बानी। जनताको आँखामा सपना छ, नेताको मुखमा वाचा छ— दुवै चम्किला। फरक यत्ति हो, जनताको सपना भोलिपल्ट पनि उस्तै हुन्छ, नेताको वाचा भने अर्को चुनावसम्म टिकिरहन्छ ।

सबैभन्दा रमाइलो त चुनाव सकिएपछि हुन्छ। माला ओइलाउँछ, पोस्टर च्यातिन्छ, मञ्च भत्किन्छ। नेताजी फेरि “व्यस्त” हुनुहुन्छ। गाउँलेहरू फेरि उही बाटोमा धुलो उडाउँदै हिँड्छन्। फरक यत्ति— अब अर्को चुनावसम्म नेताजीलाई सम्झनु पर्दैन किनकि उहाँहरू आफैँ बिर्सनुहुन्छ।

नेपाली जनता साँच्चै सरल र इमानदार छन् तर जाली नेता भएपछि के गर्नु ! तैपनि आशा गर्न छोड्दैनन् मूर्ख मनुवाहरु। हरेक चुनावमा उनीहरू नयाँ विश्वास बोकेर उभिन्छन्। सायद यही सरलता नै देशको सबैभन्दा ठूलो शक्ति हो जसले नेताहरूलाई हरेक पाँच वर्षमा गाउँघर यसो “तीर्थयात्रा” गर्न बाध्य बनाई रहेको छ ।

आगामी चुनाव पछि फूलमालाको तौल होइन, कामको हिसाब माग्ने दिन आयो भने नेताहरुलाई गारो पर्ला है।बरु चुनाव अघि नै राजीनामा दिए बेश । जनता अझै पनि सोझासिधा छन्, तर सधैँका लागि होइनन्।

सारा जनता नै जेँजी भैदिए ठगठाग को राजनीति कतिदिन टिक्ला र ? जनता ठग्ने र झुक्याएर आजीवन राजनीतिको पेशेवर जागीर खाने अनि देश र जनतालाई अर्बौ ऋणको भार बोकाई महाकंगाल बनाउने दिन गए अव ।   कसो ? 

लेखक बस्याल प्राध्यापक हुनुहुन्छ । 

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update