यो मुलुकमा निर्वाचन आयो कि राजनीतिक तापक्रम १०४ डिग्री पुग्छ। “आउट अफ स्टक” भएका नेताहरू अचानक “फुल स्टक” मा उपलब्ध हुन्छन्। पार्टीका शटर र दोकानहरू धमाधम खुल्छन्, नयाँ पोस्टर, नयाँ नारा, नयाँ योजना—सबै कुरा नयाँ प्याकेजिङमा! लाग्छ मानौँ कुनै ठुलो सपिङ मेला लागेको हो, जहाँ मतदाता ग्राहक र नेता उत्पादन बनेका छन्।
अहिले चुनावी बजारमा फरक फरक शैलीको तामझाम र अफरको ओइरो लागेको छ। “एक भोट दिनुहोस्, पाँच सपना फ्री!” “आजै समर्थन गर्नुहोस्, भोलि मन्त्री भेट फ्री !” "पेट्रोल फ्री,मासु रक्सी फ्री,सारी चोलो फ्री, नगदका बीटा फ्री! उम्मेदवारहरू राष्ट्रिय मार्केटिङ अभियानमा निस्किएका छन्। कोही हेलिकोप्टरमा, कोही बाइक र्यालीमा, कोही फेसबुक लाइभमा त कोही पहाड पखेरा,खेतका कान्लामा।
कोही २/४ धार्नीको माला शो गर्दै,कोही नाच्दै, गाँउदैं,मकै भुट्दै, हलो जोत्दै, जेरी पकाउँदै,भारी बोक्दै, अनि कोही घोक्रोको नशा फुलाउँदै भाषण ठोक्दै,अझै कोही त बाहुबल देखाउँदै, धम्क्याउँदै र रुँदै पनि। जनताको घरदैलो सम्म अफर । पाँच वर्षसम्म नदेखिएको अनुहार अहिले तपाईंको घरको ढोका ढकढक्याउँदै भन्छ—“ल , सम्झिनु होला है!”
सबैभन्दा रमाइलो त नेताहरूको बहुप्रतिभा प्रदर्शन हो। हिजोसम्म टाई–सुटमा देखिने नेताजी आज मिस्त्री बनेका छन्। फोटो खिच्दै इँटा बोक्दैछन्—एक इँटा बोक्दा तीन क्यामेरा क्लिक! कोही खेतमा हलो जोत्दैछन्, तर हलो कुन दिशामा घुमाउने भन्ने नजानेर बारी धनीलाई सोध्दैछन्। कोही भारी बोक्ने मजदुर बनेका छन्, तर बोकेको भारीभन्दा ठूलो त उनीहरूको प्रचार देखिन्छ!
नेता पनि रूप, रंग, उमेर—सबै साइज उपलब्ध छन्। सुकिलामुकिला,ख्याउटे, भुस्तिघ्रे,जवान जोशिला, मध्यम उमेरका , होचा अग्ला,घ्याम्पे, लुरे अनि निकै पुराना “विन्टेज एडिसन” नेताहरू।
दाह्री भएका नभएका, क्लिन सेभ, फ्रेन्च कट, जेल लगाएको स्टाइलिस कपाल,कोही धोतीमा कोही टोपिमा - पूरै फेशन शो जस्तै! कोही नाच्दै भोट माग्दै, कोही गीत गाउँदै, कोही माइक फुट्ने गरी चिच्याउँदै। कसैले मीठो स्वरमा सपना सुनाउँदै, कसैले जोसिलो भाषणले माहोल तताउँदै।
सपनाको त यस्तो सेल लागेको छ कि सुनिरहूँ जस्तो लाग्छ। चिल्लो सडक, २४ घण्टा बिजुली र इन्टरनेट, रोजगारी घरघरमै, डेलिभरी सेवा, रेल के के हो के के! सुन्दा लाग्छ भोलिदेखि नै स्वर्गको शाखा नेपालमा खुल्नेछ तर सर्तहरू चाहिँ अदृश्य अक्षरमा लेखिएका हुन्छन्—“चुनावपछि लागू नहुन सक्छ।”
अब ग्राहक अर्थात् मतदाताहरू सावधान हुनुपर्छ है ! सामान किन्ने बेला जस्तो राम्ररी जाँच गर्नु र प्याकेजिङभन्दा भित्रको सामग्री हेर्नुपर्छ। सन्सदमा गै सुत्ने र माखो नमार्ने ' डेट एक्स्पायार्ड 'नेता म्याद सकिएको ओखती जस्तै हुन् । पाँच वर्षको लगानी हो, यसमा ‘रिटर्न’ वा ‘एक्सचेन्ज’ सुविधा छैन। बटन थिचेपछि बिल काटिन्छ, अनि पसल पाँच वर्षका लागि बन्द !
त्यसैले, यो लोकतन्त्रको महाबजारमा आँखा खोलेर किनमेल गरौं। चम्किलो पोस्टर होइन, काम गर्ने क्षमता रोजौं। नाचगान होइन, योजना खोजौं, कुनै एक ठाउँको बाटो र पानी होइन समग्र देशको विकास गर्ने नेता रोजौं । देशको भविष्य कुनै “डिस्काउन्ट आइटम” होइन। बुद्धिमानी ग्राहक बन्ने बेला यही हो। आखिर, भोट हाम्रो हो—अफर त उनीहरूको ! कसो ?
- लेखक बस्याल प्राध्यापक हुनुहुन्छ ।


