-1757390139.jpg)
- रामराज पाेख्रेल
जेनजी मेरो सन्तानको पुस्ता हो । मेरा लागि सन्तान भन्दा ठुलो कोही छैन ।मेरा सन्तान देश छोडेर बिदेसिन नपरोस् भनेर वर्षौदेखि आवाज उठाइरहेको छु ।देश भित्र अवसर चाहियो ? रहरले देश छाड्नेको चिन्ता मलाई पटक्कै छैन मलाई ।बाध्यताले अवसर नै मुलुक भित्र नपाएर देश छोड्नेको चिन्ता मेरो सरोकार हो।
जेनजीले भदौ २३ अर्थात् सेप्टेम्बर ८ मा गरेको आन्दोलन मेरो सन्तानको भविष्यको सरोकारको लागि थियो र मेरो पूर्ण समर्थन थियो।त्यो शान्तिपूर्ण आन्दोलन अचानक युद्धको रूपमा परिणत हुनु दुर्भाग्यपूर्ण हो। यस्तो हुनुका पछाडि आन्दोलनमा आफ्नो रोटी सेकाएर राजनीतिक स्वार्थ पूर्ति गर्ने तत्त्वको घुसपैठ र सत्ताको उन्मादले उन्मुक्त सत्ता पक्षकै कारण हो ।
सामाजिक सञ्जाल नियमन र अनुगमनको पाटोलाई वास्ता नगर्ने र पुर्णबन्द गर्ने जुन चेष्टा सरकारले गर्यो । त्यो नै सत्ताको उन्माद थियो ।नेपालको संविधानले वाक स्वतन्त्रताको ग्यारेन्टी गरेको कुरालाई भुलेर जुन तरिकाले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कुरा लोकतान्त्रिक मुलुकका नागरिकका लागि पाच्य हुन्न भन्ने कुराको समेत हेक्का राख्नुपर्नेमा दुर्भाग्यपूर्ण निर्णय एक साता पनि टिक्न सकेन र यत्रो मानवीय क्षति मुलुकले बेहोर्नु पर्यो।
जेनजीले उठान गरेका थुप्रै इश्यु थिए तर त्यसमा सबैभन्दा जेन्युन इश्यु भ्रष्टाचार ,असमानता र बेथिति हुन ।यी इश्यु मेरो सन्तानका लागि ज्यादै महत्त्वपूर्ण थिए ।मुलुकमा तीन तहमा सरकार छन् त्यहाँ जनताका इश्युमा भन्दा राजनीतिक दल र तिनका नेताको बारेमा सोचिन्छ र तिनैलाई केन्द्रमा राखेर योजना बनाइन्छ भन्ने बुझाई जनतामा छ। त्यसको पुष्टिका लागि विभिन्न घटना र परिघटनाहरू काफी छन् भने नेताको परिबार र नजिकका मान्छे केन्द्रित अवसर व्याप्त छन् तर जनताका छोराछोरी ५० डिग्रीमा गएर खाडी मुलुकमा रगत पसिना बगाएर नेपालको राजस्वलाई धानेर राखिरहेका छन् ।
मुलुक भित्रका अवसरहरू नेताका परिवारका लागि प्याक भएर जनता त्यसबाट वञ्चित भएको बुझाइले जनता आक्रोशित छन्। त्यो आक्रोशको पर्खाइमा थिए जुन भदौ २३ मा देखाइदिएका छन् । शान्तिपूर्ण भनिएको आन्दोलन जाे जसका कारणले अशान्ति,अराजक र युद्धभुमिको रूपमा परिणत भो त्यो दुर्भाग्यपूर्ण नै भन्नुपर्छ ।अब जेनजी पुस्तालाई चिढाएर होइन उनीहरूलाई समालेर विश्वासमा लिएर अघि बढ्नुको विकल्प छैन। यसतर्फ सबै पक्षको ध्यान पुगोस् ।