
बुटवल– नेपाली हिन्दु नारीहरूको महान पर्व तिजको अवसरमा मंगलबार बुटवल सहित देशभर उत्सवका रुपमा मनाइएको छ ।
मंगलबार दिउँसोदेखि बुटवलका विभिन्न चौकहरुमा आफै तीज गितमा सरिक भएर तीज मनाएका छन् । बुटवल देविनगर चौपारीमा मानिसहरुको बाक्लो उपस्थितीका विच तीज मनाइएको छ ।
देविनगर चौपारीमा जि ट्वान्टी फाईभ क्लबले संयोजन गरी तीज बिशेष कार्यक्रम गरेको थियो । यसैगरी बुटवल योगिकुटी, बुटवल बहुमखी क्याम्पस सहित विभिन्न स्थानहरुमा मानिसहरु जमघट भई तीज गितमा रमाएका थिए । महिला दिदि वहिनिहरुले आफै मादल बजाएर मौलिक नृत्यमा सरिक भएका दृश्य बुटवलमा देखिएको छ ।
पछिल्लो समय गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङजा लगायतका ठाउँबाट बुटवलमा मानिसहरुको बसाई सराई हुन थालेपछि मौलिक रुपमा तीज मनाउने प्रचलन बढ्दै गएको छ । यसका साथै शिवालय तथा महादेव मन्दिरमा श्रद्धालुहरूको भीड लागेको थियो ।
यस पर्वमा खानपिन, व्रत,उपवास र स्नानका साथै अरुनधतीसहित सप्त ऋषिहरूको पूजा अर्चना गरी आफ्नो श्रीमान्, घरपरिवारको दीर्घायु, शान्ति समृद्धि र अविवाहित नारीले सर्वगुण सम्पन्न श्रीमान् प्राप्तिका लागि व्रत बस्ने परम्परा रहेको छ । लुम्बिनी प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक विदा दिएको थियो ।